काभ्रे- साहित्यकार सूर्यप्रसाद लाकोजूको पनौतीका केही जात्रापर्वहरूको दोस्रो संस्करणको लोकार्पण भएको छ। सो पुस्तक हालै संस्कृतिकर्मी तथा इतिहासकार प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, निवर्तमान प्रमुख भीम न्यौपाने र लेखक सूर्य लाकोजूले संयुक्त रुपमा विमोचन गरेका छन्।
कार्यक्रमका विशिष्ट अतिथि डा श्रेष्ठले नेपालको इतिहासमा पनौतीको स्थान उच्च रहेको र पनौती जस्तो ऐतिहासिक स्थानको बारेमा खोज गरेर लेखिएको पुस्तक पनौतीका केही जात्रापर्वहरू सान्दर्भिक पुस्तक बनेको प्रतिक्रिया दिए।
पनौती नगरपालिकाका प्रमुख भण्डारीले कृतिमार्फत लेखकले पनौतीलाई चिनाउने काम गरेको बताए।
निवर्तमान प्रमुख न्यौपानेले लाकोजूको पुस्तक पनौतीबासीका लागि मात्र नभई सबैका लागि सङ्ग्रहणीय उल्लेख गरे।
टिप्पणीकार तुयुकाजी ताम्राकारले पुस्तकले नेपाली मौलिक संस्कृतिको वकालत गर्दै संस्कृतिको संरक्षणका लागि प्रेरणा दिने विचार प्रकट गरे।
लेखक लाकोजूको यस पुस्तकमा पनौतीको परिचय, ऐतिहासिक पृष्ठभूमि, पनौतीमा वर्षभरिमा मनाइने जात्राहरू, पर्वहरू, केही नाचहरू आदि विषयवस्तुहरू समेटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।