काठमाडौं– सरकारी कोटामा कृषि कामको लागि जापान पठाइदिन्छु भनी ठगी गर्ने फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ का ३३ वर्षीय सविन प्रकाश दनुवारलाई १ करोड ३१ लाख ५० हजार रुपैयाँ ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दनुवारले २८ जनाभन्दा बढी व्यक्तिहरूबाट ‘विमान सेक्यूरिटी एन्ड सर्भिस प्रालिको अध्यक्ष र सञ्चालक हुँ’ भन्दै प्रतिव्यक्ति ७ लाखदेखि १२ लाख रुपैयाँसम्म उठाई ठगेका थिए। केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले दनुवारलाई आइतबार काठमाडौंको बसुन्धराबाट पक्राउ गरेको हो।
दनुवारलाई थप अनुसन्धानको लागि जिल्ला अदालत काठमाडौंमा सोमबार म्याद थपका लागि पेस गरिएको थियो।
यसअघि सोही मुद्दामा पीडितहरूको उजुरीको आधारमा नुवाकोट दुप्चेश्वर–७ की हाल जोरपाटी चामुन्डा बस्ने ३३ वर्षीया सरिता गुरूङ र उदयपुर त्रियुगा नगरपालिका–९ घर भई हाल काठमाडौं नेपालटार बस्ने २३ वर्षीय लालमणि दनुवारलाई गत २०७४ माघ ८ र ९ गते पक्राउ गरिएको थियो।
अनुसन्धानपश्चात् ठगी मुद्धामा काठमाडौ जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको २०७४ माघ २९ गतेको आदेशले १० लाख रुपैयाँ धरौटी माग गरिएकोमा गुरूङले तिर्न नसकेपछि जेल चलान गरिएको थियो।
लालमणि दनुवार २०७५ जेठ १५ गते १० लाख रुपैयाँ धरौटी राखी तारेखमा छुटेका थिए। अभियुक्त सविन प्रकाश दनुवार भने फरार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।