काठमाडौं– युईएफए च्याम्पियन्स लिगमा जित निकाल्दै इंग्लिस प्रिमियर लिग क्लब आर्सनल आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएको छ।
बुधबार राति स्पेनिस क्लब सेभिल्लालाई २–० गोल अन्तरले हराउँदै आर्सनल समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको हो।
आर्सनलको जितमा ट्रासोड र साकाले गोल गरे। २९औं मिनेटमा साकाको पासमा ट्रासोडले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। दास्रो हाफको ६४औं मिनेटमा मार्टिनेलीको पासमा साकाले गोल गरेपछि आर्सनलले २–० को जित निकाल्यो।
जितसँगै आर्सनल चार खेलबाट ९ अंकका साथ समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ। यही समूहको पीएसभीको ५, लेन्स ५ र सेभिल्लाको २ अंक छ।
प्रिमियर लिग क्लब आर्सनलले जित निकाल्दै शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गर्ने बलियो आधार बनाउँदा प्रिमियर लिगकै अर्को क्लब म्यानचेस्टर युनाइटेड भने समूह चरणबाटै बाहिरिने संघारमा पुगेको छ।
एफसी कोपनेहगनसँग ४–३ गोलले पराजित भएपछि युनाइटेड अहिले आफ्नो समूह ‘ए’ को पुछारमा छ। समूह ‘ए’ बाटै ४ खेलबाट १२ अंक जोड्दै बायर्न २ खेल असघ नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ। यही समूह ‘ए’ को एफसी कोपनहेगनको ४, गालाटासारेको ४ अंक छ भने म्यानचेस्टर युनाइटेड ३ अंकसहित पुछारमा छ।
अहिलेसम्म खेलेका समूह चरणका ४ खेलमा युनाइटेडले ३ मा हार बेहोरेको छ भने १ मा मात्रै जित निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।