काठमाडौं– सरकारले खाद्य पदार्थको स्थलगत अनुगमन गर्ने उद्देश्यले २८ करोडमा खरिद गरिएका गाडी (वेल इक्विप्ट ल्याबरोटरी मोवाइल भ्यान) कवाडमा परिणत भएका छन्।
कृषि तथा पशुपंक्षी मन्त्रालयअन्तर्गतको खाद्य तथा गुण नियन्त्रण विभागले खरिद गरेका भ्यानहरु ५ वर्षसम्म प्रयोगमा नआउँदा कवाडमा परिणत भएका हुन्।
सरकारले २०७५ सालमा ७ करोडका दरले ४ वटा मोबाइल भ्यान खरिद गरेको थियो। बा २ झ ४०८७, बा २ झ ४ ०८८, बा २ झ ४ ०८९ र बा २ झ ४ ०९० नम्बर भएका चारवटा मोबाइल भ्यान खरिद गर्दा तत्कालीन समयमा २८ करोड रुपैयाँ खर्च भएको बताइएको थियो।
यसमध्ये २ मोबाइल भ्यान खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नै स्रोतमा खरिद गरेको थियो भने २ मोबाइल भ्यान प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले खरिद गरेर उपलब्ध गराएको थियो।
स्थलगत अनुगमनकै क्रममा खाद्य पदार्थ र पेयजन्य पदार्थको संकलित नमूना उक्त मोबाइल भ्यानको सहयोगमा परीक्षण गर्ने र परीक्षणको क्रममा कैफियत भेटिएको अवस्थामा सोही स्थानमा कारबाही गर्ने उद्देश्यले उक्त अत्याधुनिक भ्यान खरिद गरिएको थियो।
उक्त मोबाइल भ्यान जुन प्रयोजनका लागि ल्याइएको हो सोही प्रयोजनका लागि सञ्चालनमा ‘ल्याउनू’ भनेर कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले धेरैचोटी विभागलाई निर्देशन दिइसकेका छन्। तर विभागका महानिर्देशक मतिना वैद्यले आफ्नो निर्देशनलाई समेत अटेर गरी उक्त मोबाइल भ्यान सञ्चालनमा नल्याएर कवाडी बनाइएको मन्त्री भुसालको गुनासो छ।
‘मोबाइल भ्यान जुन प्रयोजनका लागि खरिद गरि ल्याइएको हो, त्यो कार्यका लागि तत्कालै सञ्चालनमा ल्याउनु भनेर विभागका महानिर्देशक र मन्त्रालयका सचिवलाई पटक पटक निर्देशन दिएको छु। मैले भनेको धेरै भयो तर विभागले अटेर गरिरहेको छ। के कारणले हो, उक्त भ्यान सञ्चालनमा ल्याउन मानेको छैन,’ मन्त्री भुसालले पटक–पटक मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भन्ने गरेका छन्।
आफूले निर्देशन दिए पनि भ्यान सञ्चालन हुन नसकेको मन्त्री भुसालको भनाइ छ। मोबाइल भ्यान सञ्चालन गर्ने विषयमा विभागले विशेष अदालतले जारी गरेको आदेशकोसमेत अवहेलना गरेको छ। विशेष अदालतले उक्त मोबाइल भ्यान सञ्चालनमा ल्याउनु भनेर २०७९ वैशाख २५ गते नै विभागलाई आदेश दिएको थियो।
खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट छ/छैन भनेर त्यसको नतिजा तत्कालै अनुगमन स्थलमै दिन सक्ने गुण प्रयोगशालासहितको उक्त मोबाइल भ्यानको थियो। तर, यसका कारण केही स्वार्थी तत्वका कारण उक्त मोबाइल भ्यान प्रयोग गर्नै नदिइ कवाडी बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।