काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष परुषोत्तम खनालले बिचौलियाहरुको कारण मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमए) लागू हुन समस्या भएको बताएका छन्।
प्राधिकरणले गतवर्ष नै मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमए) लागू गर्ने भने पनि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा रोकिएको थियो। तर उक्त प्रणाली प्राधिकरणले सोमबारदेखि लागू गरेको छ।
प्राधिकरणका अध्यक्ष खनाल मोबाइल कारोबार गर्ने बिचौलियाहरुको कारण प्रणाली लागू गर्न समस्या आएको बताउँछन्। उनले प्राधिकरणले मोबाइलका प्रयोगकर्ताहरुलाई सुरक्षित मोबाइल प्रयोग गर्नसक्ने र हराएको बेला तत्काल बन्द गर्नसक्ने प्रणाली लागू गरेको बताए।
उनले ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेशन (जिएसएम)ले मोबाइल सेवाको प्रणाली एवं प्रविधिमा बनाएका मोबाइललाई उसको डाटावेसमा राख्ने तर टोल वा एसएमआई गरेका मोबाइलहरुको रेकर्ड त्यसमा नराख्ने उल्लेख गरे। प्रणालीका मोबाइल मात्रै नेपालमा खरिद गर्न पाउने व्यवस्था गर्न लागिएको उनको भनाइ छ।
अध्यक्ष खनालले गुणस्तरीय मोबाइलहरुको प्रयोग उपभोक्ताहरुलाई ग्यारेन्टी गर्नको लागि प्रणाली ल्याएको दाबी गरे। उनले एमडिएमए प्रणालीले अहिले मोबाइल कारोबारमा भइरहेको कालोबजारीलाई पनि नियन्त्रण गरी राजश्व प्रशासनलाई सहयोग गर्ने विश्वास व्यक्त गरे।
प्राधिकरणको पाटो सुरक्षित रुपमा डाटा प्रयोग गर्ने र डाटाबेसबाट ल्याउने मात्रै भए पनि अर्थ मन्त्रालय र भन्सार प्रशासन पनि यसमा जोडिने उनको भनाइ छ। साथै भन्सारमा यो प्रणाली जोड्दा अवैध मोबाइलहरु एउटा पनि नेपाल भित्रन नपाउने अवस्था रहेको उल्लेख गरे।
उनले नेपालमा वार्षिक रुपमा २० देखिएको २५ अर्बको मोबाइलहरु आयात हुने गरेको र त्यसमा १० प्रतिशत अर्थात ३ अर्बभन्दा बढी कालोबजारीहरु हुने गरेको जानकारी दिए। वैधानिक रुपमा रोजगारीसमेत दिएर मोबाइलको व्यापार गर्नेले सटर बन्द गरेर बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।