काठमाडौं- सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका द्वन्द्वरत र असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको छ।
सरकारद्वारा गठित राजनीतिक वार्ता टोलीले असन्तुष्ट र द्वन्द्वरत पक्षलाई वार्तामा आउन औपचारिक आग्रह गरेको हो। सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेयले असन्तुष्ट एवम् द्वन्द्वरत सम्पूर्ण पक्षलाई वार्तामा आउन आह्वान गरे। उनले कुनै पनि असहमति, विवाद र द्वन्द्वलाई वार्ताकै माध्यामबाट टुंगो लगाउन सरकारले वार्ता टोली नै गठन गरेको पनि स्पष्ट पारे।
गत भदौ ८ गते बसेको मन्त्रीपरिषद बैठकले द्धन्द्वरत र असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता पाण्डेयको नेतृत्वमा ५ सदस्यीय अधिकार सम्पन्न राजनीतिक वार्ता टोली गठन गरेको थियो। टोलीले सिंहदरबारभित्रै कार्यालय स्थापना गरी आफ्नो कामलाई पनि सुरु गरेको छ।
संयोजक पाण्डेयले गृह मन्त्रालयसँग समन्वय गरेर समितिले आफ्नो काम सुरु गरिसकेको जानकारी दिए। समितिले द्वन्द्वरत र असन्तुष्ट पक्षलाई पहिचान गर्न शान्ति प्रक्रियासँग सम्बन्धित विगतका समितिहरुसँग पनि आवश्यक परामर्श लिइसकेको छ।
वार्ता टोललाई संक्रमणकालीन परिवेशमा भएका मधेस आन्दोलन लगायतका अन्य आन्दोलन र सरोकारवाला पक्षसँग नेपाल सरकारको तर्फबाट वार्ता गरी सहमति, सम्झौता, समझदारीका विषयमा अध्ययन, विश्लेषण गरी कार्यान्वयनका गर्नका लागि आवश्यक सुझावहरु तय गर्ने कार्यादेश दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।