काठमाडौं– तिहारका लागि स्वदेशी उत्पादन फूल पर्याप्त हुँदाहुँदै सरकारले भारतीय फूलमाला आयातका लागि पहल गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषदी व्यवस्थाप केन्द्रले भारतीय सयपत्री फूलमाला आयात गर्न कात्तिक १५ गते ९ वटा अनुपति पत्र जारी गरेको छ।
प्रति अनुमतिपत्र बराबर ५० हजार किलोका माला बजार मूल्यअनुसार १२ करोड ५० लाख रुपैयाँमा आयात हुन थालेको नेपाल फ्लोरिकल्चर एशोसिएसन (फ्यान) का अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिए। स्वदेशी उत्पादनलाई बेवास्ता गर्दै सरकारले ४ लाख ५० हजार किलो सयपत्रीको माला आयात गर्न अनुमति दिएको उनको भनाइ छ।
सयपत्री फूल एक किलोमा ५ वटा माला हुने र ४ लाख ५० हजार किलोमा झण्डै २५ लाख माला पुग्ने तामाङ बताउँछन्। जस अनुसार सरकारले आवश्यकताभन्दा बढी माला आयात गर्न अनुमति लिइएको उनको भनाइ छ। ‘स्वदेशी किसानले तिहारमा ३५ लाखको संख्यामा सयपत्री फूलको माला बजारमा ल्याउने तयारी गरेका बेला भारतबाट आयात हुने मालाले स्वदेशी मालाको बजार गुम्ने जोखिम बढेको छ,’ उनले भने, ‘भारतबाट माला आयात भए नेपाली किसान पुष्प खेती र व्यवसायबाट पलायन हुने खतरा उत्पन्न हुन्छ।’
तिहारमा ४० लाख गोटा सयपत्री फूलको मालाको माग रहेको र ८० प्रतिशतका दरले ३५ लाख हाराहारीमा नेपाली उत्पादनले बजार धान्ने देखिएको थियो। सरकारले अपुग हुने ५ लाख गोटा मात्रै आयात गर्न अनुमति दिनुपर्नेमा २५ लाख गोटाको लागि आयात अनुमति दिँदा स्वदेशी उत्पादन ३५ लाख मालाले बजार नपाउने अवस्था सिर्जना भएको उनी बताउँछन्।
सरकारले स्वदेशी किसानलाई प्रोत्साहन गर्नुभन्दा भारतीय आयातित फूललाई प्रोत्साहन गर्ने नीति लिएको तामाङ बताउँछन्। स्वदेशमै सयपत्री फूलको उत्पादन पर्याप्त हुने भएकाले यो वर्ष भारतबाट फूलसहित प्लास्टिकको मालाको आयातमा प्रतिवन्ध लगाउनु पर्ने आफूहरुको माग भए पनि सरकारले यसलाई वेवास्ता गर्दै आयातको तयारी गरेको उनको भनाइ छ।
यसका लागि फ्यानको अगुवाइमा नेपाली पुष्प किसान र व्यवसायीहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र गृह मन्त्रालयका अधिकारीहरुसँग पटक पटक छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।