काठमाडौं– संसदीय सुनुवाइबाट अस्वीकृत भएका सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दिपकराज जोशी भोलि(मंगलबार)बाट सर्वोच्च अदालत फर्किने भएका छन्।
नेपाल लाइभसँग विशेष कुराकानी गर्दै जोशीले भने, ‘हालसम्म भइपरी बिदा लिएको थिएँ। मंगलबारदेखि सर्वोच्च फर्किन्छु।’
आज (सोमबार) मात्र संसदीय सुनुवाइ समितिले बरियतामा उनीभन्दा पछाडि रहेका ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशका लागि अनुमोदन गरेको छ।
मिश्रको अनुमोदन नहुदाँसम्म न्यायालय विवादमा नआओस् भनि आफू बिदामा बसेको उनले प्रष्ट पारे। ‘म न्यायालय र न्याय सम्पादन स्वतन्त्र होस् भन्ने सोच राख्ने भएकाले आजसम्म बिदामा बसें’, जोशीले भने, ‘भोलीबाट नियमित कार्यमा अदालत फर्किन्छु्।’
बरियतामा आफूभन्दा पछिल्लो स्थानमा रहेको व्यक्ति प्रधानन्यायाधीशको रुपमा आउँदा सहजरुपमा काममा फर्किन बाधा पुग्दैन? भनी सोधेको प्रश्नमा उनले न्यायाधीशले आफ्नो स्वतन्त्र काम गर्ने भएकाले यस्तो समस्या नहुने दाबी गरे।
मिश्र र आफू सहकर्मी भएकाले अदालतको न्याय सम्पादनमा ‘जुनियर’ र ‘सिनियर’ लागू नहुने उनले बताए।
राजीनामा दिने÷नदिने विषयमा जोशीले भने, ‘अहिले यस्तो कुनै पनि योजना छैन। म न्याय सम्पादानका लागि सर्वोच्च फर्किन्छु, अहिले यति मात्र सोचेको छु।’
यसअघि सुनुवाइ समितिबाट जोशीको नाम अनुमोदन नभएपछि उनले राजिनामा दिनुपर्ने कानुनविद्हरुले बताउँदै आएका थिए। तर, जोशीले यसअघि पनि राजिनामाका विषयमा नसोचेको बताएका थिए। ‘मैले राजिनामा नै दिनुपर्ने कुनै त्यस्तो कार्य गरेको छैन, किन दिनु?’, जोशीले प्रतिप्रश्न गरे।
जोशीको नाम सुनुवाइ समितिबाट अस्वीकृत भएपछि मिश्रको नाम संवैधानिक परिषद्ले भदौ ७ गते सिफारिस गरेको थियो। सुनुवाइका क्रममा चित्तबुझ्दो जवाफ नआएको भन्दै जोशीको नाम गत साउन १८ गते संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेको थियो। करिब १ वर्ष कार्यावधी रहेका जोशी मिश्रले अवकाश पाएपछि पुनः बरियताको पहिलो नम्बरको न्यायाधीश हुने छन्।
मिश्रले पुस १८ गते पदबाट अवकाश पाउने छन्। करिब ४ महिना मिश्र सर्वोच्चको नेतृत्वमा रहँदा जोशी उनीपछिको बरियतामा बसेर काममा फर्किनसक्ने आकँलन गरिएको छ। आफ्नो नाम अस्वीकृत भएपछि उनी बिदामा बसेका थिए।
दुई पटकसम्म बिदा थप गरी बसेका उनी अदालत फर्किन लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।