काठमाडौं– स्पेनिस ला–लिगामा आइतबार राति भएको खेलमा रियल मड्रिड रायो भाल्कानोसँग गोलरहित बराबरीमा रोकिएको छ।
बलियो टोली रियललाई भाल्कानोले घरेलु मैदानमा बराबरीमा रोक्यो। खेलमा हाबी भए पनि रियल मड्रिड गोल गर्न चुक्दा अंक बाँड्न बाध्य भयो। ६३ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राख्दै २२ पटकसम्म भाल्कानोको पोस्टमा रियलले प्रहार गरे पनि गोल गर्न भने सकेन।
रियलका मुख्य मिडफिल्डर जड बेलिङ्घम पहिलो हाफमा चोट लागेका कारण मैदान बाहिरिका थिए। उनको चोट कस्तो छ भन्ने अहिलेसम्म रियलले खुलाएको छैन।
बराबरीमा रोकिएसँगै रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ। १२ खेलबाट २९ अंकसहित रियल दोस्रो स्थानमा छ। १२ खेलबाटै ३१ अंकसहित गिरोना भने शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।