काठमाडौं– ललितपुरको जावलाखेलमा गत मंगलबारदेखि जारी गोदावरी फूल मेला आइतबार सकिएको छ।
आइतबारसम्म लम्ब्याइएको उक्त मेलामा १ करोड १७ लाखको कारोबार भएको छ। आइतबार मेलामा टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत रकम जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि उपलब्ध गराइने एसोसिएसनले जनाएको छ।
एसोसिएन मुख्य आयोजक तथा पुष्प विकास केन्द्र सह आयोजक रहेको प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रको सहयोग रहेको थियो भने सेवा कोकोपिटले प्रयोजन गरेको थियो।
प्रदर्शनीमा व्यवसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल २, फ्लावर सजावट स्टल २ र सूचनामूलक ५ लगायत गरी ७० वटा स्टल रहेका थिए। यस गोदावरी फूलको प्रदर्शनीमा ४५ हजार बढीले प्रत्यक्ष अवलोकन गरेको साथै एक करोड १७ लाख बढीको व्यवसायिक कारोबार भएको आयोजकले जनाएको छ।
आइतबार मेलाको अन्तिम दिन पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल तथा, ललितपुर महानगरपालिकाकी उपप्रमुखले पनि मेला अवलोकन गर्दै व्यवसायीहरुका समस्याहरुबारे जानकारी लिएका थिए।
मेलाको अन्तिम दिन पनि सर्वसाधारण तथा फूल पारखीहरुको बाक्लो उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।