काठमाडौं- वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन श्रमिकको सम्पूर्ण तथ्यांक अब अनलाइनमा नै उपलब्ध हुने भएको छ। सरकारले सञ्चालनमा ल्याएको एकीकृत अनलाइन प्रणालीमा कामदार र रोजगारीका सबै विवरण अनलाइनमा राख्ने काम सुरु भएको छ। उक्त प्रणालीको औपचारिक सुरुवात सोमबारबाट भएको हो।
वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदारका गुनासा तथा मुद्दा समाधान गर्ने उद्देश्यले अनलाइन प्रणाली आजदेखि सञ्चालनमा ल्याएको हो। ‘फरेन इम्प्लोयमेन्ट इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (एफइआइएमएस)’ नामकरण गरिएको उक्त अनलाइनको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टले सोमबार उद्धघाटन गरे।
अनलाइन प्रणाली उद्धघाटन गर्दै विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित, विश्वासनीय र मर्यादित बनाउने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको बताए।

‘जसरी भए पनि वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षा सरकारले गर्नेछ। देश विदेशबाट वैदेशिक रोजगारीमा जाने कामदारको रगत र पसिनामाथि खेलवाड गर्ने दिनको अन्त्य जसरी गर्नेछु,’ उनले भने, ‘मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमार्फत् वैदेशिक रोजगारीमा जाने कामदारको विवरण र रोजगारदाता देशका विषयको जानकारी श्रमिकलाई मिल्ने छ।’ मन्त्री विष्टले वैदेशिक रोजगार क्षेत्रका विकृति र विसंगति हटाउन एकीकृत अनलाइन प्रणाली सञ्चालनमा ल्याएको बताए।
मन्त्रालयले तयार पारेको अनलाइन प्रणालीमा वैदेशिक रोजगारीमा जान लागेका र फर्किएका सबैको विवरण तत्काल थाहा पाउन सकिने मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताएका छन्। राहदानी विभाग, श्रम विभाग, अध्यागमन विभागलगायत वैदेशिक रोजगारीसँग सम्बन्धित सबै कार्यालय र नियोगबाट कामदारको कम्प्युटरमा पासपोर्ट नम्बर क्लिक गर्ने बित्तिकै एक–पटकमा सबै विवरण हेर्न मिल्ने गरी विकास गरिएको उनको भनाई छ।
यस प्रणालीअन्तर्गत श्रम मन्त्रालय र मातहतका विभाग तथा श्रम कार्यालय, राहदानी विभाग, कन्सुलर विभाग, अध्यागमन, विदेशस्थित नियोग, म्यानपावर कम्पनी, स्वास्थ्य परीक्षण संस्था तथा अभिमुखीकरण केन्द्र रहने छन्। कुनै पनि व्यक्तिको उजुरी वा गुनासोसमेत अनलाइन सिस्टममा आबद्ध हुनेछ।
यो प्रणाली लागू भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको सम्पूर्ण विवरण पासपोर्ट नम्बरकै भरमा हेर्न पाइन्छ।

अनलाइन प्रणाली सुरु भएपछि वैदेशिक रोजगारबाट नेपाल फर्कनेको संख्या यकिन हुनुका साथै विदेश जाने कामदारको सम्पूर्ण तंथ्याक अनलाइनबाटै हेर्न मिल्ने भएकाले म्यानपावर कम्पनीले कामदारलाई ठगी गर्न नसक्ने मन्त्रालयको दाबी छ।
गृह र परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा संयुक्त अनलाइन प्रणालीको औपचारिक शुभारम्भ भए पनि असोज १५ देखि पूर्ण रुपमा सञ्चालनमा आउनेछ।
यसबाट वैदेशिक रोजगारीमा जाने र फर्कनेको तंथ्याकसँगै विदेशमा कार्यरत नेपालीले झेल्नुपर्ने समस्या समाधानमा सहयोग पुग्ने मन्त्रालयको बुझाइ छ। साथै मन्त्रालय अन्तर्गतका कुन संस्थाका फाइल तथा काम कहाँ पुगेर अड्किएको छ र प्रक्रिया के भैरहेको छ भन्ने जानकारी पनि लिन सकिने मन्त्रालयले जनाएको छ।
अनलाइन प्रणालीको सुरुवात भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्किएका कामदारको तंथ्याक राख्ने काम पनि सुरु हुने मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।