काठमाडौं- आफ्ना गुरु तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतलीविज्ञ कोलन स्मिथको निधनप्रति नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले निःशब्द भएको प्रतिक्रिया सार्वजनिक गरेका छन्।
पुतली बाजे भनेर चिनिने स्मिथको शनिबार निधन भएको थियो।
केही वर्षअघि पोखरामा भेट हुँदा आफूले उनलाई के इच्छा छ भनेर सोधेको र उनले नेपाली नागरिक भएर नेपालमै मर्न चाहेको बताएको भट्टराईले लेखेका छन्।
‘५० वर्षभन्दा बढी नेपालमै बसेर त्यत्रो अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक खोज अनुसन्धान गर्ने व्यक्तित्वलाई पनि नागरिकता दिन हिच्किचाउने हाम्रो सोच र विधिविधानप्रति मलाई निकै लज्जाबोध भयो’, भट्टराईले फेसबुकमा लेखेका छन्, ‘मैले समेत उच्चतहमा रोइकराइ गरेर उहाँले मानार्थ नेपाली नागरिकता पाउनुभएको थियो।’
भट्टराईले उनीसँग जोडिएको बाल्यकालको पनि सम्झना गरेका छन्। ‘हामी गोरखाको अमर ज्योति हाइस्कूलमा शायद पाँच कक्षामा पढ्थ्यौँ। उहाँ हामीलाई विज्ञान पढाउनुहुन्थ्यो। समय मिल्यो कि पुतली समाउने जाली बोकेर छेउको जंगल चाहर्नुहुन्थ्यो’, भट्टराईले लेखेका छन्, 'कहिलेकाहीँ त कक्षाकोठाको झ्यालबाट बाहिर पुतली देख्यो कि ‘ऊ..ऊ..पत्ताली’ भन्दै कक्षा छोडेर कुद्नुहुन्थ्यो। हामी केटाकेटी मज्जाले हाँस्थ्यौं!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।