काठमाडौं– नेपाल रेडक्रस सोसाइटीले शुक्रबार राति गएको भूकम्पले प्रभावित भएको जाजरकोट र रुकुम पश्चिममा तत्काल आवश्यक हुने राहत सामग्री वितरण गर्ने निर्णय गरेको छ।
‘जाजरकोट जिल्ला बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्र बिन्दु भई गएको भूकम्पको प्रतिकार्यका लागि प्रभावित जिल्ला र पालिकाहरुमा तत्काल नेपाल रेडक्रका स्वयंसेवकहरु खोज तथा उद्धार र राहतका लागि खटिएका छन्,’ रेडक्रसले भनेको छ, ‘नेपाल रेडक्रस केन्द्रीय कार्यालयले आपतकालीन बैठकको आयोजना गरी खोज तथा उद्धार र राहतका लागि जिल्ला शाखाहरु र गृह मन्त्रालयसँग समन्वय तथा सम्पर्क, प्रभावित जिल्लामा गैर खाद्य राहत सामग्रीहरु ढुवानी, विपदको प्रारम्भिक विवरण संकलन र राहत वितरणको लागि तालिम प्राप्त स्वयंसेवक र कर्मचारीको परिचालन गरिएको छ।’
साथै प्रभावित रुकुम र जाजरकोट जिल्लाको लागि नेपालगञ्ज र सुर्खेतबाट गैर खाद्य राहत सामग्रीहरु (म्याट्रेस, तारपोलिन, कम्बल र स्वास्थ्य र वास सामग्री)हरु आज नै सो स्थानमा पुग्ने गरी पठाइएको रेडक्रसले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।