काठमाडौं- झगडिया पाइलटलाई उडान अनुमति दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछाप विमानस्थल प्रमुख अशोक थापालाई निलम्बन गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दुई पाइलटबीच हात हालाहालको अवस्था आइसकेपछि तनावमा रहेका पाइलटबाट हवाई उड्डयनमै सुरक्षा चुनौती हुने गरी अनुमति दिएको भन्दै थापालाई समेत निलम्बन गरिएको हो।
भुलले भने, ‘किन झगडिया पाइलट सञ्जिव श्रेष्ठलाई रामेछापबाट लुक्ला उडान गर्न दिए भन्ने विषयमा थप छानबिनको लागि निलम्बन गरिएको हो।’ भुलका अनुसार अर्को सूचना नभएसम्मका लागि थापालाई पनि निलम्बन गरेर प्राधिकरणले शुक्रबार बिहान भएको दुई पाइलटको झगडाको विषयमा अनुसन्धान गरिरहेको छ।
तारा एयरका वरिष्ठ क्याप्टेन सञ्जीव श्रेष्ठ र सन्तोष साहबीच शुक्रबार बिहान रामेछाप बिमानस्थलमा झगडा भएको थियो। उक्त झगडापछि प्राधिरकणले दुवै पाइलटको लाइसेन्स निलम्बन गरेर उडानमा रोक लगाएको छ।
प्राधिकरणले आवश्यक छानबिन गर्ने भएको छ। छानबिनपछि ती पाइलटद्वयको लाइसेन्स नै खारेज हुन सक्नेसम्मको कारबाही प्राधिकरणले गर्न सक्ने पनि सूचना अधिकारी भुलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।