काठमाडौं– नेपालमा एक महिनाको अवधिमै एक लाख बढी पर्यटक भित्रिएका छन्। चालू वर्ष (सन् २०२३) को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ।
गतवर्ष २०२२ अक्टोबर मा ५२ हजार १२१, २०२१ मा १५ हजार ७१५ र सन् २०२० मा १ हजार ८३१ जना पर्यटक नेपाल आएका थिए। जसअनुसार पर्यटकको आगमन गत वर्षभन्दा यसवर्ष दोब्बरले बढेको देखिएको छ।
चालू वर्षको अक्टोबरमा सबैभन्दा धेरै भारतबाट १८ हजार ४८० जना पर्यटक नेपाल भित्रिएका छन्। दोस्रो स्थानमा अमेरिकी छन्। अमेरिकाबाट १४ हजार ८७९ जना पर्यटक नेपाल आएको तथ्यांक छ।
तेस्रो स्थानमा बेलायती छन्। यस मुलुकबाट ८ हजार २१७ जना पर्यटक नेपाल भित्रिएका छन्। चीनबाट ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१, बंगलादेशबाट ४ हजार २९२, श्रीलंकाबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ जना पर्यटक नेपाल भित्रिएका छन्।
सन् २०२३ को १० महिनाको अवधिमा ८ लाख पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अक्टोबरको बीचमा ८ लाख ९ हजार ६७८ जना पर्यटक नेपाल आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।