काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि थप काम गर्न सरकारसँग आग्रह गरेका छन्।
बुधबार नेपाल पर्वतारोहण संघको ५०औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेपालमा आरोहणका लागि खुला नगरिएका हिमश्रृंखलाहरु खुलाउन जरुरी रहेको उनको भनाइ थियो।
उनले आरोहणका लागि नखुलाइएका हिमालहरु खुलाउन हिमालको व्यवस्थापन र प्रवर्द्धनको जिम्मेवारीका लागि उपयुक्त निर्णय लिन सुझावसमेत दिए। जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि संघले आफ्नो तर्फबाट गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको उनले बताए।
राष्ट्रपति पौडेलले पर्वतीय पर्यटनलाई विश्व पर्वतीय बजारमा स्थापित गर्न आवश्यक रहेको बताए। उनले हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई हिमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवर्द्धनमा उपयोग गर्नुपर्नेमा जोड दिए।
हिमाली पर्वतारोहण संरक्षण, हिमाली जनताको सांस्कृति सम्पदाको संरक्षण, आरोहण, खेलकुद गतिविधिको विकास, मृतक पर्वतारोहीका परिवारका लागि कल्याणकारी कार्यक्रम आदि अन्य गतिविधिमा नेपाल पर्वतारोहण संघले निर्वाह गरेको भूमिका असामान्य रहेको उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले संघले पर्वतीय पर्यटनको क्षेत्रमा खेलेको भूमिका सह्रानिय रहेको बताए। नेपाल कार्बन उत्सर्जन कम गर्ने देश हुँदाहुँदै पनि जलवायु परिवर्तनको समस्या नेपालले भोग्नुपरेको कुरा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गर्नु र यसबारेमा विश्वको ध्यानाकर्षण गराउनु नेपालका लागि सन्तोषको विषय भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।