काठमाडौं- प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रले न्यायिक कामकारबाहीको क्रममा हुने अनियमितता रोक्ने आफ्नो कार्यकालको एक मात्र लक्ष्य भएको प्रतिबद्धता व्यक्त गरेका छन्।
संसदीय सुनुवाइ विशेष समितिमा आफ्ना कुरा राख्दै मिश्रले यस्तो प्रतिबद्धता व्यक्त गरे। ‘प्रभावकारी अनुगमन गरेर अदालतको भ्रष्टाचार रोक्ने मेरो पहिलो काम हुनेछ,’ उनले भने, ‘म लामो समय अदालतमा त बस्दिनँ तर जति बस्छु न्यायालयको साख सुधार्ने कार्य गर्नेछु।’
उनीविरुद्ध परेका उजुरीबारे जवाफ माग्न संसदीय सुनुवाइ समितिले अहिले बिहान ९ बजे बोलाएको बैठकमा बोलिरहेका मिश्रले न्यायलिकाप्रतिको जनआस्था अभिवृद्धिलाई आफूले प्राथमिकतामा राखेको बताएका हुन्। ‘न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्नु र न्यायिक कामकारबाहीको प्रभावकारी अनुगमन गरी भ्रष्टाचार जस्ता कार्य रोक्ने प्रयास मबाट हुनेछ,' सुनुवाइ समितिमा आफ्ना योजनाबारे उनले भने, ‘अदालतले निर्माण गरेको कार्ययोजनासहित म यसमा काम गर्नेछु।’
न्यायपालिकामा समावेशीकरणको विषय उठेको उल्लेख भन्दै उनले संविधानको मर्मअनुसार अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे। खासगरी न्यायाधीश सिफारिस समावेश नभएको कुरातर्फ उनले यस्तो बताएका हुन्।
सुनुवाइ समितिमा आफूबारे परेका उजुरीहरुको जवाफ दिइरहेका मिश्रले आफ्नो करिअरमा १७ हजार मुद्दाको फैसला गरेको जानकारी गराउँदै आमाको नामबाट नागरिकता दिलाउने, फोहोरमैला नियन्त्रणका लागि होर्डिङ बोर्ड हटाउन गरेको आदेश लगायतलाई तीमध्येका महत्त्वपूर्ण फैसलाको रुपमा प्रस्तुत गरेका छन्। विशेष अदालतमा रहँदादेखि आफू भ्रष्टाचारको मुद्दामा कडा निगरानी चाहने व्यक्ति भएको जिकीर उनले गरे।
मिश्रको सुनुवाइ चलिरहेको छ। उनी अनुमोदन भए सर्वोच्च अदालतको २८औं नेतृत्वका लागि छानिनेछन्।
यसअघि सिफारिस भएका न्यायाधीश दीपकराज जोशीको नाम सुनुवाइ समितिबाट अस्विकृत भएपछि मिश्रको सुनुवाइलाई गम्भीरताका साथ न्यायलयले लिएको छ। संवैधानिक परिषद्ले भदौ ७ गते मिश्रको नाम नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो।
सिफारिसपछि संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको थियो। १० दिन म्याद सहितको सूचनामा मिश्रमाथि ४ थान उजुरी परेको हो। तीमध्ये एक उजुरी स्वयं उजुरीकर्ताले फिर्ता लियसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।