काठमाडौं- गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणमा सफाइ पाएका छविलाल पौडेल आज बिहान रिहा भएका छन्।
जिल्ला अदालत चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला आइतबार गरेको थियो। उक्त आदेश अनुसार काठमाडौंको डिल्लीबजार कारागारबाट पौडेल रिहा भएका हुन्। हाल फरार रहेका रुद्र आचार्यबाहेक अन्य सबै अभियुक्तले सफाइ पाएका छन्।
असार २४ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि पौडेललाई पुर्पक्षका लागि डिल्लीबजार कारागार लगिएको थियो।

सशस्त्र संघर्षका बेला माओवादी कार्यकर्ताहरुले अधिकारीको हत्या गरेका थिए। २०६१ जेठ २४ मा चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुरआमालाई भेट्न आएका बेला उनको हत्या भएको थियो। हत्याको जिम्मा तत्कालीन विद्रोही माओवादीले लिएको थियो। त्यसपछि कृष्णका दाजु र बाबुले हत्याविरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।
मुद्दामा अनुसन्धान नै नभएपछि कृष्णका बाबुआमाले अनसन सुरु गरेपछि २०७० साउनबाट चितवन प्रहरीले अनुसन्धान बढाएको थियो। प्रहरीले अनुसन्धान पुरा गरे पनि मुद्दा चल्ने नचल्ने भन्ने विषयमा विवाद उठेको थियो। बाबु नन्दप्रसाद र आमा गंगामाया अधिकारीले अनशन जारी नै राखेपछि २०७० साल चैत्र ३० मा चितवन जिल्ला अदालतमा १३ जना विरुद्ध मुद्दा दायर भएको थियो।
छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका बाबु नन्दप्रसादको अनशनका क्रममा निधन भएको थियो। आमा गंगामायाले भने केही महिनाअघि अनशन तोडेकी थिइन्। अनशनका क्रममा निधन भएका नन्दप्रसादको अझै दाहसंस्कार भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।