दक्षिण सुडान– दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटना हुँदा विमानमा यात्रारत १९ जनाको मृत्युभएको उक्त क्षेत्रका एक मन्त्रीले पुष्टि गरेका छन्।
आइतबार बिहान चालक दलका सदस्यसहित २३ यात्रु लिएर जुबाबाट इरोलतर्फ उडेको र इरोल नजिकै पुग्दा दुर्घटनाग्रस्त भएको क्षेत्रीय सूचनामन्त्री अबेल अगुकले बताए। घटनामा चार जनालाई सकुशल उद्धार गरिएको अगुकले बताए।
उनले दुर्घटनामा इरोलका पादरी सिमोन एडटको पनि निधन भएको बताए। एक इटालीका एक नागरिकसहित दुई बालबालिकालाई भने जीवितै उद्धार गरिएको छ भने एक जनाको अझै परिचय खुल्न सकेको छैन।
दुर्घटनाग्रस्त विमान व्यवसायिक जहाज भएको मन्त्री अबेलले बताए। मृतकमध्ये अधिकांश इरोलका नागरिक रहेको बुझिएको छ। दुर्घटनापछि इरोल सहर शोकमा डुबेको छ। विमान दुर्घटनापछि इरोल सहरका पसलहरू बन्द भएका छन्।
विमान अवतरण हुने समय बाक्लो हुस्सु लागेको र विमान अवतरणका लागि राम्रो अवस्था नरहेको भन्ने रिपोर्टहरू आफूले पाएको सूचना मन्त्रीले बताए।
संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित रेडियो मिरायाले आफ्नो आधिकारिक ट्वीटर पेजमा विमानको भग्नावशेष पानीमा डुबेको तस्वीर सार्वजनिक गरेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।