काठमाडाैं–२०७४ सालको ‘पद्मश्री साहित्य पुरस्कार’ लेखक नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ र‘पद्मश्री साधना सम्मान’ तारानाथ शर्मालाई प्रदान गरिने भएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले सोमबार एक सूचना जारी गर्दै पुरस्कार तथा सम्मानको घोषणा गरेको हो।
‘पद्मश्री साहित्य पुरस्कार’ वर्षभरी प्रकाशित कृतिमध्ये उत्कृष्ट कृतिलाई र ‘पद्मश्री साधना सम्मान’ नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा दीर्घ साधना गरी विशिष्ट योदना दिने व्यक्तिलाई प्रदान गरिँदै आएको छ।
यारमा आफ्ना निकट साथीहरूका माध्यमबाट नेपाली समाज,साहित्य र कलाका साथै त्यहाँभित्रका मानिसको मनोदशालाई विशिष्ट शैलीमा प्रस्तुत गरिएको छ। प्रतिष्ठानले वर्षकै उत्कृष्ट कृतिको रुपमा यारलाई छनाेट गरेको हो।
डा.तारानाथ शर्मा विगत ६ दशकदेखि नेपाली नियात्रा,निबन्ध, समालोचना, आख्यान, अनुवाद र सम्पादनमा विशिष्ट योगदान दिँदै आइरहेका छन्। उनी नेपाली साहित्यमा झर्रोवादी अभियानका एक अभियान्ता पनि हुन्।
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०६२ देखि मोफसलमा प्रकाशित उत्कृष्ट कृतिलाई ‘पद्मश्री साहित्य पुरस्कार’प्रदान गर्दै आएको थियो। २०६६ सालबाट देश तथा विदेशबाट समेत नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ।
त्यसैगरी २०६७ सालबाट नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा दीर्घ साधना गर्ने विशिष्ट व्यक्तिलाई‘पद्यश्री साधना सम्मान’ प्रदान गर्दै आइरहेको प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले बताए।
घोषणा गरिएका दुवै पुरस्कार र सम्मानको राशी २/२ लाख रहेका छन्। पुरस्कार तथा सम्मान आगामी कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिने संरक्षक लामिछानेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।