काठमाडौं- पोखरा महानगरपालिकाले फिर्के खोलाको क्षेत्र भित्र बनेका संरचना ३५ दिन भित्र हटाउन निर्देशन दिएको छ। सीमांकन टोलीले प्रतिवेदन बुझाएको एक महिनापछि महानगरले शुक्रबार ३५ दिने सूचना जारी गरी यस्तो निर्देशन दिएको हो।
तोकिएको समयमा संरचना नहटाए महानगरपालिका आफैंले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थावाट असुल-उपर गरिने महानगरले जारी गरेको सूचनामा उल्लेख छ। यसअघि पोखरा महानगरले गठन गरेको फिर्के खोला सिमांकन टोलीले असोज ६ गते प्रतिवेदन पेस गरेको थियो।
पोखरा महानगरपालिकाले गठन गरेको सीमांकन टोलीले फिर्के खोला मिचेर १६० वटा अस्थायी र स्थायी संरचना बनाएको प्रतिवेदन पेस गरेको थियो।
सर्वेक्षक वासुदेव पौडेल नेतृत्व टोलीले पेस गरेको सो प्रतिवेदनमा खोला मिचेर ९७ वटा अस्थायी, ३५ वटा स्थायी, १० वटा संघ-सस्थाका अस्थायी र १८ वटा संघसस्थाका स्थायी संरचना बनेको उल्लेख छ। सर्वेक्षण टोलीले खोलामा फोहोर फ्याँक्ने डम्पिङ बन्दै गइरहेको र तत्काल यसको संरक्षण र विकास लक्षित परियोजना सञ्चालन नगर्ने हो भने कालान्तरमा यसको अस्तित्व नै समाप्त हुने सम्भावना रहेको प्रतिवेदनमा औंल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।