जलेश्वर- महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा ५० रुपैयाँको सिक्रीका लागि एक युवकको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार स्थानीय राजनारायण पासवानका छोरा १९ वर्षीय आशिक भन्ने वसन्त पासवानको आफ्नै दुई जना साथीले छुरा हानेर हत्या गरेका हुन्।
बुधबार राति गाउँमै लागेको दसैँ मेला हेर्न गएका वसन्तले मेलामा ५० मा एउटा सिक्री किनेका थिए। सोही सिक्री लगाएर फोटो खिच्ने भन्दै उनीसँगै गएका साथी दीपक मल्लिकले वसन्तको सिक्री लिएर फोटो खिचेका थिए। तर फोटो खिचिसकेपछि वसन्तले आफ्नो सिक्री माग्दा दीपकले नदिएपछि झगडा भएको र दीपक र अर्का साथी अमित मल्लिक मिलेर बिहीबार वसन्तलाई छुरा हानेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले आफ्नै साथीको हत्याको आरोपमा वसन्तका साथीहरु भारतको विहार राज्यको मधुवनी जिल्लाको जयनगर बस्ने १९ वर्षीय दीपक मल्लिक र उनका भाइ नाता पर्ने सोही जिल्लाको साहरघाट बसबरिया बस्ने १८ वर्षीय अमित मल्लिकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेको छ।
दीपक र अमित दुवै जना पिपरा गापा–५ बस्ने मामा सुरेश मल्लिकको घरमा बस्दै आएका थिए। मामाघर बस्दै आएका बेला सोही गाउँका वसन्तसँग मित्रता भएको थियो।
बिहीबार राति एक स्थानीय जगदीश साहको खेतमा वसन्तको शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीको नेतृत्वमा खटिगएको प्रहरी टोलीले हत्याको आरोपमा मामाघरमा लुकी बसेका दीपक र अमितलाई पक्राउ गरेको थियो। हत्या गर्न प्रयोग गरिएको छुरा र रगत लत्पतिएको उनीहरुको कपडा पनि प्रहरीले फेला पारेको छ।
- रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।