काठमाडौं– एक साता लामो भ्रमणका लागि प्रधान सेनापति प्रभुराम शर्मा आज (शुक्रबार) जनवादी गणतन्त्र चीन प्रस्थान गरेका छन्।
चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा दशौं बेइजिङ स्याङ्सन फोरममा सहभागी हुन प्रधान सेनापति शर्मा चीन गएका हुन्।
चीनमा रहँदा प्रधान सेनापतिले ग्रेट वाल लगायत बेइजिङस्थित महत्त्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमण गर्नेछन्। उनी चीनका लागि नेपालका राजदूतले आयोजना गर्ने रात्रिभोजमा पनि सहभागी हुनेछन्।
बेइजिङतर्फ प्रस्थान गर्नुअघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सिताराम खड्काले बिदाई गरे।
आजै प्रधान सेनापतिलाई सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। भ्रमणदलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी, प्रधान सेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृतलगायतको सहभागिता रहेको छ।
प्रधान सेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सिताराम खड्काले कायममुकायम प्रधान सेनापति भई कार्यभार सम्हाल्नेछन्।
यही कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधान सेनापति शर्माको चीन भ्रमण स्वीकृत गरेको थियो। शर्मा कात्तिक १६ गते स्वदेश फर्किने कार्यक्रम छ।
यही कात्तिक १२ गतेदेखि १४ गतेसम्म बेइजिङमा सञ्चालन हुने दशौँ बेइजिङ स्याङ्सन फोरमको उद्घाटन समारोहमा शर्मा सहभागी हुनेछन्।
चीनमा रहँदा शर्माले सैनिक सहायता, सैन्य तालिमलगायत विषयमा छलफल गर्ने स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।