तस्बिर: रासस रुकुम पश्चिम– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँचै वर्ष टिक्ने दाबी गरेका छन्।
बिहीबार रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै पाँचै वर्ष गठबन्धनकै सरकार जाने भएकाले सरकार ढल्छ कि भनेर कसैले भ्रम नपाल्न चेतावनीसमेत दिए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो। तर, गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन्। तर, उनीहरू सक्दैनन्। म तपाईंलाई जोड दिएर भन्छु- यो गठबन्धन पाँचै वर्ष जान्छ। गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन। कसैले भ्रम नपाल्दा हुन्छ।’
यस्तै उनले संयुक्त राष्ट्रसंघका महासचिव केही दिनमा नेपाल आउने जानकारी गराउँदै उक्त भ्रमणले विश्वको ध्यान नेपालमा खिचिने दाबी गरे।
उनले भने, ‘संयुक्त राष्ट्रसंघको महासभामा जाँदा मैले राष्ट्रसंघका महासचिवलाई नेपाल भ्रमणको निम्तो दिएको थिएँ। जलवायु परिवर्तनले नेपाललाई पारेको नकारात्मक प्रभाव आफ्नै आँखाले हेरिदिनुस् भनेको थिएँ। मेरो निम्तो स्वीकारेर उहाँ नेपाल आउँदै हुनुहुन्छ। यसले विश्वको ध्यान नेपालमा खिच्नेछ। यो नेपालका लागि महत्त्वपूर्ण अवसर हो।’
यस्तै उनले वैदेशिक लगानीलाई कतारका राजालाई निमन्त्रणा गरिएकोमा उनी पनि आउन लागेको जानकारी दिए। कतार नेपालमा लगानी गर्न इच्छुक भएकाले यसका लागि सरकारले सकारात्मक पहल गरेको उनको भनाइ थियो।
‘कतारका राजा पनि नेपाल आउँदै हुनुहुन्छ। हामीले वैदेशिक लगानीलाई व्यवस्थित गर्न उहाँलाई निमन्त्रणा गरेका छौं,’ उनले भने, ‘कतार उदीयमान मुलुक हो। उ नेपालमा लगानी गर्न इच्छुक छ। यसका लागि हामीले सकारात्मक पहल गरेका छौं।’
अध्यक्ष प्रचण्डले क्रान्तिकालमा नेतृत्वलाई अप्ठ्यारो पर्दा रुकुम, रोल्पा, सल्यान र जाजरकोट जाने गरेको स्मरण गर्दै यहाँका जनताले क्रान्ति र नेतृत्वको रक्षा गरेको उल्लेख गरे।
शान्ति प्रक्रियापछि पनि आफू यहाँका जनतासामू आएकाले जनयुद्धको आधार इलाकाबाट ऊर्जा लिएर फर्किने दाबी गरे। उनले भने, ‘क्रान्तिकालमा नेतृत्वलाई अप्ठ्यारो पर्दा रूकुम, रोल्पा, सल्यान, जाजरकोट जाने गर्थें। तपाईहरूले क्रान्तिको रक्षा गर्नुभयो, नीति र नेतृत्वको रक्षा गर्नुभयो। शान्ति प्रक्रियापछि पनि तपाईंहरूसँग बढी आएको छु। यो आधार इलाकाबाट ऊर्जा लिएर फर्किने गरेको छु। मलाई नयाँ शक्ति प्राप्त भएको अनुभूति हुन्छ।’
यस्तै अध्यक्ष प्रचण्डले माओवादी घटकका दलहरु फेरि एक हुनुपर्ने बेला आएको बताएका छन्। आफूहरु ठूलो पार्टीको रुपमा उदाए पनि सबै फरक–फरक बाटोमा लाग्दा पार्टी फुटेको उनको भनाइ थियो। साथै उनले क्रान्ति गर्नेबेला जनतासामु गरिएका प्रतिबद्धता भुलेर नेताहरु फरक बाटोतिर लागेको उनले बताए।
कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिवद्वय जनार्दन शर्मा, मातृकाप्रसाद यादव, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा लगायतका नेताहरूले सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।