काठमाडौं– विजया दशमी (दशैंको टीका)को दिन नेपाल प्रहरीले काठमाडौं उपत्यकामा नि:शुल्क बस सञ्चालन गर्ने भएको छ।
सर्वसाधारणको सहजताका लागि भन्दै प्रहरीले २ वटा रुट निर्धारण गरेर नि:शुल्क बस सञ्चालन गर्न लागेको हो। प्रहरीका बसहरु प्रहरी प्रधान कार्यालय नक्साल क्षेत्रलाई केन्द्र बनाएर गुड्नेछन्।
पहिलो रुटअन्तर्गतका बस नक्सालबाट बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हुँदै नक्साल पुग्नेछन्। उक्त रुटमा बिहान ८:३० बजे र अपराह्न ४ बजे गरी २ सिफ्टमा बस सञ्चालन हुने प्रहरीले जनाएको छ।
यस्तै, दोस्रो रुटका बस नक्साल, रातोपुल, एयरपोर्ट, कोटेश्वर हुँदै भक्तपुरको सूर्यविनायक पुग्नेछन्। उक्त रुटका बस सूर्यविनायकबाट सल्लाघारी, ठिमी, कोटेश्वर, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्नेछन्। दोस्रो रुटमा पनि बिहान ८:३० बजे र अपराह्न ४ बजे गरी २ सिफ्टमा बस सञ्चालन हुने प्रहरीले जनाएको छ।
दशैंको सुभसाइतमा टीका लगाइसकेपछि सर्वसाधारणहरु आफन्तकोमा टीका लगाउन जाने गर्छन्। दशैंका बेला सार्वजनिक यातायातका साधनहरु कम मात्रै चल्ने हुँदा प्रहरीले सर्वसाधारणको सहजताका लागि नि:शुल्क बस सञ्चालन गर्दै आएको छ।
प्रहरीले यसअघिका वर्ष पनि दशैंको टीकाको दिन काठमाडौंमा नि:शुल्क बस सञ्चालन गर्दै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।