काठमाडौं– नेपाली कांग्रेसकी नेता जावेदा खातुन जागाले निर्वाचनका बेला नेताहरुले मतदातासमक्ष गरेका वाचा र प्रतिबद्धता पूरा गर्नु प्रत्येक सांसदको कर्तव्य र दायित्व भएको बताउँछिन्। चुनाव प्रसारप्रसारका समयमा जनतालाई दिएका आश्वासन, सेवासुविधा र विकास निर्माणको ‘अजेण्डा’ बोकेर गएको सांसद मन्त्रालय मन्त्रालयमा भेटिनुलाई अन्यथा लिन नहुने उनको धारणा छ।
नेता खातुनले विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न नसके तापनि सडक र खेल मैदानका लागि आफूले गरेको प्रयासको मतदाताले प्रशंसा नै गरेको प्रतिक्रिया दिइन्।
मतदाताले कानुन निर्माणमा कति प्रगति भयो तथा बाँकी के–कति कारणले हुन सकेन भनी प्रश्न गरेको घटना सुनाउँदै सांसद खातुनले विषयगत समिति गठनमा भएको ढिलाइ, सदन अवरुद्ध र दलीय सङ्ख्यात्मक संरचनाले तीव्ररुपमा कानुन निर्माणमा चुनौती खडा गरेको बताए।
हिउँदे र बर्खे अधिवेशन सकिँदासम्म जति कानुन निर्माण गर्नुपर्ने हो त्यो नभएकामा आलोचना भइरहेको बताउँदै उनले जनताका आवाज र कानुन निर्माणलाई सबै राजनीतिक दलले साझा एजेण्डा बनाउनपर्ने विचार प्रकट गरिन्।
सांसद खातुन भन्छिन्, ‘स्वार्थको राजनीतिक कारण एकअर्काको अस्थित्व र उपस्थितिलाई अस्वीकार गर्ने, हस्तक्षेप गर्ने, सरकार फेरबदल भइरहने, विधेयकमाथि पनि आआफ्नो स्वार्थ रहने परिस्थितिले कानुन तर्जुमालाई तीव्रता दिन चुनौती खडा भएको छ।’
नेता खातुलनले सदनमा मर्यादापूर्व प्रस्तुत हुने, सोच विचार गरी वक्तव्य दिने र अनुशासनमा रही गौरव गर्न लायक अगुवा हुनपर्नेमा सस्तो लोकप्रियताका लागि नियमापत्ति गर्ने, आरोपप्रत्यारोप मात्र नभइ सभामै कपडा खोल्नेजस्ता कार्य सुहाउँदो विषय नभएको टिप्पणी गरिन्। जनप्रतिनिधि हुनुका नाताले सांसदले जनताको आशा र भरोसा कायम राख्न जरुरी भएको बताउदै कांग्रेस केन्द्रीय सदस्य खातुनले विकास निर्माण, डुबान, नदी कटानका अतिरिक्त बर्दियामा मानव र वन्यजन्तुबीचको द्वन्द्व प्रमुख समस्या रहेको जानकारी दिइन्।
उनी भन्छिन्, ‘विकास निर्माण त गर्दै गरौँला सबैभन्दा पहिला मानिस बाँच्न पर्यो। जल्दाबल्दो समस्या त्यही हो। बाढी पनि समस्याकै रुपमा छ। पुल आवश्यक छ।’
खर्चिलो निर्वाचन प्रणालीले पनि सुशासन कायम गर्न र भ्रष्टाचार निवारणका लागि चुनौती खडा गरेको मत राख्ने सांसद खातुन चुनावमा गरेको खर्च उठाउने प्रवृत्तिले पनि त्यसमा मलजल पुर्याएको बताउँछिन्।
हालको मिस्रित निर्वाचनको साटो समानुपातिक निर्वाचन प्रणाली मात्र कायम गरिए खर्चका हिसाबले निकै किफायत हुने उनको व्यक्तिगत धारणा छ। समानुपातिक मात्रै निर्वाचन प्रणाली कायम गर्नेबारे दलका शीर्ष नेताहरुले समयमै ध्यान पुर्याउन आवश्यक रहेको उनी बताउँछिन्।
विचारमा बलियो र निष्ठावान् भए पनि पैसा नहुने नेता तथा कार्यकर्ताले अवसर नै प्राप्त गर्न कठिन रहेको उदाहरण प्रस्तुत गर्दै जागाले गरिब र जनताको सेवामा समर्पित व्यक्ति अघि बढ्न नसक्ने अवस्था सिर्जना भएको दुखेसो पोखिन्।
मुलुकको शिक्षा क्षेत्र र उद्योगधन्दा पर्वर्दनमा राज्यले लगानी बढाएर गुणस्तरीय शिक्षा र रोजगारी सिर्जना गर्न आवश्यक रहेको जनाउँदै उनले देशभित्रै स्वरोजगार मुखी सबैखाले विषयमा गुणस्तरीय शिक्षा प्रदान गर्न जरुरी रहेको विचार व्यक्त गरिन्
प्रतिनिधि सभाको महिला, बालबालिका तथा समाजकल्याण समितिको सदस्य रहेकी सांसद खातुनले बर्दिया सबै खाले समुदायबीच हार्दिकता र सामाजिक सद्भाव कायम गरेको नमूना जिल्लाका रुपमा स्थापित रहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।