प्रतिकात्मक तस्बिर
काठमाडौं– दशैंका बेला सरकारले फुलपातीदेखि ५ दिनसम्म सार्वजनिक बिदा घोषणा गरेको छ। त्यसैअनुरुप फुलपातीदेखि अस्पतालहरुमा ओपीडी सेवा बन्द छ। यद्यपि अस्पतालहरुले आकस्मिक सेवामार्फत् बिरामीहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्ने गरेका छन्। काठमाडौं उपत्यका केही प्रमुख सरकारी अस्पतालहरुले कसरी उपचार सेवा प्रदान गर्ने छन् भन्नेबारे यहाँ उल्लेख छ।
वीर अस्पतालका निर्देशक भन्छन् – करारका कर्मचारी हटाइएपछि आकस्मिक सेवा प्रदान गर्न हम्मे–हम्मे
वीर अस्पतालले दशैं बिदाका रुपमा ४ दिन ओपीडी बन्द गर्नेछ। यद्यपि दशैं बिदाको समयमा पनि अस्पतालको आकस्मिक सेवा सञ्चालनमा नै रहनेछ। दशैंको समयमा आकस्मिक रुपमा हुने बिरामीको चापलाई व्यवस्थापन गर्न अस्पतालले अन्य सार्वजनिक बिदामा जस्तै आकस्मिक सेवाका चिकित्सकहरु रहने व्यवस्था गरेको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बताए। तर केही दिन अगाडि मात्रै करारका रुपमा कार्यरत जनशक्तिलाई सरकारले निकालेपछि अन्य समयमासमेत बिरामीको चाप थेग्नका वीर अस्पतालका चिकित्सक तथा नर्सलाई हम्मेहम्मे परिरहेको अवस्था छ। अझै दशैं जस्तो पर्वमा धेरै कर्मचारीहरु बिदामा रहने भएकोले वीर अस्पताललाई आकस्मिक सेवा दिन धेरै गाह्रो पर्ने निर्देशक पौडेलले बताए।
अस्पतालमा ओपीडी सेवा शनिबारदेखि बुधसम्मका लागि बन्द गरिएको तथा बिहीबारबाट सुचारु हुने डा पौडेल बताउँछन्। ‘थोरै जनशक्तिका बीच सार्वजनिक बिदामा जसरी चल्थ्यो, वार्ड र आकस्मिक कक्ष त्यसैगरी नै चल्छ। रोटेसन मिलाएर चिकित्सकले काम गर्छन् र दशैं पनि मनाउँछन्,’ उनले भने।
दशैं भए पनि बिरामीले आकस्मिक सेवा नपाउने अवस्था हुँदैन: गंगालाल राष्ट्रिय हृदय केन्द्र
गंगालाल अस्पतालले पनि दशैंको समयमा बिरामीलाई आकस्मिक सेवा प्रभावकारी रुपमा प्रदान गर्ने जनाएको छ। दशैंको समयमा मुटु रोगका आकस्मिक बिरामीलाई आकस्मिक सेवा विभागमार्फत सेवा दिने अस्पतालका निर्देशक डा चन्द्रमणि अधिकारीले बताए।
‘दशैंको समयमा आकस्मिक कक्ष र वार्ड खुला रहन्छन्। आकस्मिक रुपमा गर्नुपर्ने शल्यक्रिया पनि सञ्चालन हुन्छ, केही समयपछि गर्नुपर्ने अप्रेशन चाहिँ बन्द हुन्छ’, डा. अधिकारीले भने, ‘दशैं भएपनि बिरामीले आकस्मिक सेवा नपाएर फर्किनुपर्ने अवस्था हुँदैन।’
तीन दिनमात्रै ओपीडी तथा गाइनोकोलोजी सेवा बन्द गर्छौँ: परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल
अस्पतालमा डेलिभरी शल्यक्रिया लगायतका सम्पूर्ण सेवाहरु सञ्चालन हुने परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका उप निर्देशक डा सन्देश पौडेलले बताए।
यद्यपि अस्पतालमा दशैं बिदामा तीन दिन गाइनोलोजी तथा ओपीडी सेवा बन्द हुने उनले बताए। प्रसूतिको विशिष्टीकृत सरकारी अस्पताल भएकोले डेलिभरी प्रक्रियालाई प्रभाव पार्ने हुनाले ३ दिनमात्रै ओपीडी तथा गाइनोकोलोजी सेवा बन्द गरिएको उपनिर्देशक डा.पौडेलले बताए।
ल्याब, एमआरआई, सिटीस्क्यान लगायतका सेवा २४सै घन्टा खुला: त्रिवि शिक्षण अस्पताल
त्रिवि शिक्षण अस्पतालले सधैंझै आकस्मिक सेवा दशैंको बिदाको दिन पनि दिनेछ। आकस्मिक शल्यक्रिया, डेलिभरी, डायलाइसिस लगायतका सेवा अस्पतालले प्रदान गर्नेछ। त्रिवि शिक्षण अस्पतालमा ५ दिन ओपीडी बन्द हुनेछ। दशैं बिदाका ५ दिन आकस्मिक, इन्डोर लगायतका सेवा भने सुचारु हुने अस्पतालका निर्देशक डा दिनेश काफ्ले बताउँछन्। ल्याब, एमआरआई, सिटीस्क्यान लगायतका सेवा भने २४ सैं घन्टा खुला रहने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।