प्रतिकात्मक तस्बिर
जाजरकोट– डोल्पा र जाजरकोटका गाउँमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल सक्किएको छ। ती गोदामहरुमा लामो समयदेखि १ गेडा चामल पनि नरहेको स्थानीयले बताएका छन्।
डोल्पाको सदरमुकाम दुनैमा रहेको केही सीमित चामलबाट प्रतिपरिवार ६० केजीका दरले चामल दिने गरिएको छ। जाजरकोट सदरमुकाममा ४५० क्विन्टलमात्र अघिल्लो वर्षको बाँकी रहेको चामल वितरण भइरहेको छ।
डोल्पामा नयाँ ठेक्काको सबै प्रक्रिया पूरा भए पनि चामल ढुवानी नभएका कारण सदरमुकामको डिपोमा रहेको अघिल्लो वर्षको चामलबाट अहिले प्रतिव्यक्ति ६० केजी मात्र दिने व्यवस्था गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दुनैका प्रमुख विष्णु घिमिरेले बताए।
सदरमुकाममा १ हजार क्विन्टल चामल रहेकाले त्यहीँबाट अहिले काम चलाउने गरिएको उनको भनाइ थियो। त्यस्तै सदरमुकामकै अर्को डिपो जुफालमा १५० क्विन्टल मात्र चामल रहेको र सदरमुकामभन्दा बाहिरका डिपोमा लामो समयदेखि एक गेडा चामल नभएको उनको भनाइ छ।
लिकु, सर्मी, सहरतारालगायत डिपोहरुमा लामो समयदेखि चामल नभएको अवस्था छ। यी ठाउँमा ढुवानीकर्ताले आफैँ लिएर चामल बिक्री गर्दै आएका छन्।
सदरमुकामबाहेक बाहिर पालिकामा वितरण हुने चामल सबै ठेकेदारले नै बिक्री गर्दै आएका छन्।
कम्पनीले कर्मचारी पठाउन नसक्दा सबै ठेकेदारले वितरण गर्दै आएका हुन्। पालिकाले आफैँ अग्रसर भएर सम्बन्धित डिपोमा निगरानी तथा कर्मचारी परिचालन गरेमा मात्र त्यहाँ पारदर्शी हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।