काठमाडौं– दशैंको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ। पछिल्लो २४ घण्टामा १ लाख जनाले उपत्यका छाडेका छन्।
आज (शुक्रबार) बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत् पछिल्लो २४ घण्टामा १ लाख यात्रु बाहिरिएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। योसँगै घटस्थापनापछि शुक्रबारसम्म कुल ४ लाख ६६ हजार नागरिक दशैं मनाउन काठमाडौं उपत्यका छाडेर गएका छन्।
घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने नागरिकको सङ्ख्या बढ्न सुरु भएकामा पछिल्लो ३ दिनदेखि अत्यधिकरूपमा बढेको भट्टले जानकारी दिए। उनका अनुसार घटस्थापनाको दिन असोज २८ गते ५१ हजार २७९ र त्यसको भोलिपल्ट ५१ हजार ३८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो सङ्ख्या बढेको हो।
असोज ३० गते ७३ हजार ८९६, कात्तिक १ गते ९१ हजार १०२ र २ गते ९८ हजार ३३२ जनाले उपत्यका छाडेका छन्। शुक्रबार बिहानसम्ममा १ लाखले उपत्यका छाडेका प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए।
निजी सवारीसाधनमार्फत् जानेहरूको सङ्ख्या गणना नहुने भएकाले अझै धेरै सङ्ख्यामा नागरिक उपत्यका छाडेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।