प्रतिकात्मक तस्बिर
बनेपा– काभ्रे जिल्लाको बनेपामा प्रहरीले ९२ बोरा चिनी बरामद गरेको छ। राजस्व छलेर ल्याएको ९२ बोरा बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ।
बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नम्बरको ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी (अन्दाजी ५ लाख ९८ हजारको) र २८ बोरा धान (अन्दाजी ४२ हजार रुपैयाँ)को बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए। उनका अनुसार बिहीबार अपराह्न ट्रक पनौतीबाट बनेपातर्फ आइरहेको अवस्थामा धुलिखेल नपा–२ का ३७ वर्षीय चालक राजु तिमल्सिनालाई चिनीसहित नियन्त्रणमा लिइएको हो।
सवारी जाँचका क्रममा चालकसँग चिनी खरिदसम्बन्धी कुनै पनि कागजात नभएकाले अवैध रुपमा चिनी ओसारपसार गर्न प्रयोग गरिएको उक्त ट्रक र चालकलाई आवश्यक अनुसन्धानका लागि ललितपुरको हरिहर भवनस्थित राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।