काठमाडौं– चाडपर्वको बेलामा सर्वसाधारणहरुलाई दु:ख, हैरानी दिइ ठगी गर्ने कार्यमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौँडा–१३ का २५ वर्षीय सन्देश श्रेष्ठ, काठमाडौं–१० का २८ वर्षीय रोहित लामा, महोत्तरीको बर्दिवास–१० का ३६ वर्षीय अनिल बुढाथोकी काठमाडौं– ३२ का ३५ वर्षीय कमल सार्की र ३६ वर्षीय राजकुमार डंगोल रहेका छन्।
सर्वसाधारण नागरिकका अति आवश्यक दैनिक जीवन यापनका क्रियाकलापमा विभिन्न व्यक्ति, समूह, बिचौलियाहरुले चाड पर्वको अत्यन्त व्यस्त, भिडभाडपूर्ण समयमा विभिन्न समस्या तथा बाध्यताको फाइदा उठाएर पाकेटमारी, चोरी, लुटपाट, सवारी साधनमा बढी भाडा असुली गर्ने, नक्कली टिकट बेचबिखन गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परीसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।