काठमाडौं– नेपाल साल्ट्र ड्रेडिङ कर्पोरेशनले सरकारले चिनी आयातका लागि स्वीकृति दिन ढिलाई गरेका कारण बजारमा चिनी अभाव भएको बताएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय निर्देशक ब्रजेशकुमार झा सरकारले ढिलो निर्णय गर्दा बजारमा अहिले चिनी अभाव देखिएको बताए।
उनले चिनी अभाव हुने विषयमा गत जेठ महिनामा नेपाल सरकारसँग आग्रह गरे पनि सरकारले तत्कालिन समय स्वीकृति नदिँदा चिनीमा समस्या आएको बताए। सरकारले समयमा नै स्वीकृत दिएको भए समयमा चिनी आयात हुँदा अभाव झेल्न पर्ने अवस्था नआउने उनको भनाइ छ।
उनले सरकारले भदौ २७ गते निर्णय गरेर १० हजार मेट्रिक टन साल्ट ट्रेडिङ कर्पोरेसन र १० हजार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई स्वीकृत दिए पनि भारतमा चिनी निर्यातमा रोक लगाएको कारण समस्या भएको बताए।
यस्तै उनले अहिले सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी भएसम्म उपभोक्तालाई २ केजी उपलब्ध गराउने बताए। उनले सरकारले चाडपर्व लक्षित सञ्चालनमा आएका सहुलियत पसलमा लाइनमा बस्ने उपभोक्ताहरुलाई खाली हात नपठाउने बताए। लाइनमा बस्ने उपभोक्ताहरुले अनिवार्य २ केजी चिनी पाउने उनको भनाइ छ। चिनी अभावको कारणले सहुलियत पसलहरुमा चिनी किन्न आउने उपभोक्ताहरुको भीड रहेको छ।
उनले चिनी खरिद प्रक्रिया अगाडि बढाए पनि चाडपर्वमा ल्याउन नसकिएको उल्लेख गरे। सरकारले आन्तरिक बजारबाट तत्कालको ७० टन चिनी २ केजीको दरले उपभोक्तालाई दिन उपलब्ध गएर ९७ रुपैयाँ प्रतिकेजीको दरले काठमाडौंका ८ वटै आउटलेटबाट बिक्री गरिरहेको छ।
उनले विगतका वर्षहरुको भन्दा यो वर्ष सरकारले सञ्चालन गरेको सहुलियत पसलहरुको व्यापारमा कमी आएको पनि बताए। उनले दशैं, तिहार र छठमा चिनी अभाव हुन नदिन साल्ट ट्रेडिङ लिमिटेडले सरकारसँग समन्वय गरे पनि सरकारको निर्णयमा ढिलाइ हुँदा समस्या भएको बताए।
आन्तरिक रूपमा उत्पादन भएको चिनी ‘स्टक’ सकिएपछि अहिले बजारमा चिनी मूल्य ह्वात्तै बढेको छ। साल्ट ट्रेडिङ र खाद्य व्यापार तथा व्यवस्था कम्पनीले अहिले विभागले उपलब्ध गराएको ७० हजार किलो चिनी उपभोक्तालाई प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।