काठमाडौं– काभ्रे जिल्लामा टिपर सञ्चालनमा रोक लगाइएको छ। चाडपर्वमा हुने यात्रुवाहक सवारीसाधनको चापलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आज (बिहीबार)देखि जिल्लाभित्रका मुख्य सडकहरुमा टिपर सञ्चालनमा रोक लगाएको हो।
निर्माण सामग्रीको ढुवानीमा प्रयोग हुने टिपरका कारण चाडपर्वका बेला दुर्घटनाको जोखिम बढ्ने देखिएपछि प्रशासनले टिपर सञ्चालनमा रोक लगाएको हो।
घटनास्थापनाको दिन नै टिपरले ठक्कर दिँदा काभ्रेको पाँचखालमा १ जनाको मृत्यु भएको थियो। दशैंका बेला सडक क्षेत्रमा समेत पैदलयात्रीको चाप बढ्ने भएकाले टिपरबाट अझै दुर्घटना हुने जोखिम देखिएको सरोकारवालाहरुको निष्कर्ष थियो।
बुधबार बसेको सरोकारवालाको बैठकले दशैंभर टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। बैठकले बिहीबार बिहान ५ बजेदेखि कात्तिक १३ गते राति ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए।
जिल्ला समन्वय समितिका पदाधिकारी तथा बागमती टिपर व्यवसायी सङ्घ र अन्य यातायात व्यवसायीसमेतको उपस्थितिमा भएको छलफलमा चाडपर्वको समयमा सवारीसाधनको बाक्लो आवतजावत हुने, ट्राफिक व्यवस्थापन गर्न जटिल हुने भएकाले काभ्रेपलाञ्चोकभित्र र जिल्लाभित्रका दुई राजमार्ग अरनिको र वीपीमा टिपर सञ्चालन गर्न रोक लगाउने निर्णय भएको हो।
यस्तै, बैठकले दुर्घटना बढ्दै गएको जनाउँदै बैठकले टपर तथा सार्वजनिक सवारी साधनका चालकका लागि सचेतना कक्षासमेत सञ्चालन गर्ने निर्णय गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत असोज महिनामा २५ सवारीसाधन दुर्घटनामध्ये ६ वटा टिपरका कारण भएका थिए। दुर्घटनामा 7 जनाको ज्यान गएकामा ३ जनाले टिपरको कारण ज्यान गुमाएका थिए।
दुर्घटना बढेपछि एक वर्षदेखि टिपरलाई दिउँसो ढुवानी गर्न प्रतिबन्ध लगाइएको थियो। दुई राजमार्ग तथा जिल्लाको दक्षिणी क्षेत्र बनेपा–खोपासी सडक, उत्तरी क्षेत्रको हेलम्बु राजमार्गमा दैनिक करिब दुई हजार निर्माण सामग्रीलगायतका मालवाहक सवारी साधन चल्ने गर्दछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।