काठमाडौं– नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताएको छ। केन्द्रीय गठबन्धनको स्पिरिटअनुसार आफ्नो पार्टीले मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिने माओवादीको भनाइ छ।
माओवादी केन्द्रले आफूहरुले गरेको त्यागलाई नजरअन्दाज नगर्न भन्दै मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण पनि गराएको छ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्ने सम्बन्धमा प्रदेश सभामा पेस गरेको प्रस्ताव माथिको छलफलमा भाग लिँदै माओवादी केन्द्रका सांसद दुर्गाप्रसाद चापागाईँले गठबन्धन बचाउनकै लागि र गठबन्धनको भावनाअनुसार अगाडि बढ्नका लागि नै आफ्नो पार्टीले सभामुख त्याग गरेको स्मरण गराए।
प्रदेश सभाको दोस्रो कार्यकालको ११ महिनामा संसदीय समितिहरू निर्माण गर्न नसकेको, प्रदेश सरकारका स्थायी संरचना निर्माण गर्न ध्यान दिन नसकेको, नियमित संसद् चल्न नसक्दा जनताको आवाज बोल्न नपाइएको र अनुगमन लगायतका काम हुन नसकेको चापागाईँले उल्लेख गरे।
‘हामीलाई प्रदेश सभाभित्र रहेका सांसदहरूसँग अन्तरघुलनकै समस्या भइरहेको छ। आजबाट एउटा अनिश्चय र आशङ्काको अन्त्य हुनेछ,’ चापागाईँले भने।
प्रदेशको सुशासन र विकासलाई तीव्रता दिनुपर्ने, स्थायित्व दिन पनि लाग्नुपर्ने उल्लेख गर्दै सांसद चापागाईँले प्रदेशमा देखिएको अस्थिरताको अन्त्य गर्नका लागि गठबन्धनको निर्णयअनुसार माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।