राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौला काठमाडौं– कोशी प्रदेश सभाको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने बताएको छ। राप्रपा प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाले आफूहरु प्रतिपक्षमा बस्ने बताए।
उनले सरकारका राम्रा काममा रचनात्मक सहयोग गर्ने बताए। ‘हामी विरोधका लागि विरोध गर्नेछैनौं। सरकारका राम्रा काममा रचनात्मक रुपमा सहयोग गर्नेछौँ,’ सिटौलाले भने।
मुख्यमन्त्री कार्कीले प्रदेश सभामा पेस गरेको विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै सिटौलाले यतिपटक मुख्यमन्त्री भए भन्दा पनि प्रदेशलाई स्थिर बनाउनेतिर लाग्न आग्रह गरे।
प्रदेश सभाले तीव्र गतिमा कानुन बनाउन नसकेको, कर्मचारीहरु निरुत्साहित रहेको र ऐनहरु पनि पर्याप्त बनाउन नसकेको सिटौलालले उल्लेख गरे।
‘अब यतिपटक मुख्यमन्त्री भएर नाममात्र नलेखौँ। प्रदेशको राजनीतिक स्थिरताका लागि सबैले दायित्व निर्वाह गर्नुपर्छ। सरकारका कारणबाट भएका अस्थिरता सरकारले जिम्मा लिनुपर्छ भने अन्यबाट हुने अन्यले लिनुपर्छ,’ सिटौलाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।