काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङलाई ५० करोड दिने घोषणा गरेका छन्। बुधबार जलवायु परिवर्तन र उच्च तापमान वृद्धिका कारण देखिएका चुनौतीहरूबारे सरकार र जनताबीच संवाद गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा मुस्ताङमा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै उनले सो घोषणा गरेका हुन्।
'एउटा जलवायुसँग सम्बन्धित नै अन्तर्राष्ट्रिय संस्थाबाट झण्डै ५० करोड सहयोग नेपाललाई प्राप्त हुँदैछ। त्यो पचासै करोड मुस्ताङलाई नै हामी दिँदैछौँ। यसबाट तपाईंहरूले बुझ्न सक्नुहुन्छ, नेपाल सरकारले मुस्ताङ जिल्ला र यसको ऐतिहासिकता, यसको भौगोलिक विशिष्टता, यहाँको संस्कृति, यहाँको परम्परा र यहाँको उत्पादनप्रति सरकार निकै नै संवेदनशील छ भन्ने एउटा प्रमाणको रुपमा म राख्न चाहन्छु,' उनले भने।
प्रधानमन्त्री प्रचण्डले मुस्ताङमा जलवायु परिवर्तनको असरलाई कम गर्न धेरै काम गर्नुपर्ने बताए। 'एउटा त काली नदी र त्यसका शाखाहरूलाई कसरी नियन्त्रण गर्न सकिन्छ। र भोलि हुने हुने जोखिमहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने एउटा विषय त छँदैछ,' उनले थपे।
उनले विगतमा हिमपातको घटना भएको र त्यसबाट ठूलो मानवीय क्षति पनि भएको स्मरण गरे। भने, 'जलवायु परिवर्तनसँग यसको सम्बन्धलाई हामीले कसरी सम्बोधन गर्न सकिन्छ। यहाँको कृषि, यहाँको उत्पादन, यहाँको पर्यटन र यहाँका अन्य तमाम व्यवसायसँग जलवायु परिवर्तनबाट पुगेको क्षतिलाई कसरी रोक्न सकिन्छ भन्ने बारेमा नेपाल सरकार गम्भीर ढंगले लागेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।