काठमाडौं– केही दिनअघि सरकारको समीक्षा सुरु भएको र मन्त्रीहरु फेरिनसक्ने संकेत गरेका नेकपा अध्यक्ष पुष्कमल दाहाल 'प्रचण्ड'ले भारतबाट फर्किएपछि भने आफ्नो आशय मन्त्रीहरु फेरिहाल्ने नभएको बताएका छन्।
सरकारको गम्भीर समीक्षामा लागेका छौं : प्रचण्ड
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको धारणा नै आधिकारिक भएको बताए।
'प्रधानमन्त्रीजीले जे भन्नुभयो त्यही नै आधिकारिक हो। मैले मन्त्रीहरुले गल्ती गर्छन् भने कारबाही पनि हुनसक्छ भन्ने सन्दर्भमा मात्रै भनेको हो। मन्त्री परिवर्तन भइहाल्छ भनेर मैले भनेको होइन। अहिले प्रधानमन्त्रीले हुँदैन भनेपछि त्यही आधिकारिक हो', प्रचण्डले भने।
शनिबार प्रधानमन्त्री केपी ओलीले एउटा कार्यक्रममा सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको उल्लेख गरेका थिए। उनले भनेका थिए– 'केही हुनेवाला छैन। राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन्।'
मन्त्रिमण्डलमा हेरफेर हुँदैन : प्रधानमन्त्री
दुई अध्यक्षको फरकफरक धारणा आइरहँदा प्रश्नहरु उब्जिइएका थिए।
विमानस्थलमा प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा भएका भेटघाट बारे संक्षिप्त जानकारी दिए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेश मन्त्री सुष्मा स्वराज, सुरक्षा सल्लाहकार अजित डोवल लगायत व्यापारीहरुसँग पनि भेट गरेको बताए।
'प्रधानमन्त्रीजीसँग सबै विषयमा छलफल भयो। सामान्यतया इतिहाससँग सम्बन्धित विषयमा, यस क्षेत्रको बारेमा आफूले गरेको अध्ययन र निष्कर्षको बारेमा जानकारी गराउनुभयो', प्रचण्डले भने।
मोदीले आइसिडब्लुएमा आफूले गरेको सम्बोधनबाट बुद्धिजीवी तथा मिडिया सन्तुष्ट भएको भेटिएकोमा बधाई दिएको प्रचण्डले सुनाए।
भारतमा रहँदा प्रचण्डले आइसिडब्लुएले आयोजना गरेको 'नेपालको वर्तमान राजनीतिक परिस्थिति र नेपाल भारत सम्बन्ध'माथि सम्बोधन गरेका थिए।
'नेपालमा अहिले बलियो सरकार बनेको छ। स्थिरता आएको छ। अब विकास र समृद्धि होस्। समृद्ध नेपाल नै हाम्रो इन्ट्रेस्ट हो भन्ने कुरा कसैले पनि भन्न छुटाउनुभएन', भारतमा भएका भेटघाटबारे प्रचण्डले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।