काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजावाहकले मात्रै गर्नसक्ने बताएका छन्।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थल तर्फको टर्मिनल भवनहरुमा राखिएका पसलहरु र बोर्डिङ पास कक्षको अनुगमन गर्दै उनले यस्तो बताएका हुन्।
उनले टर्मिनल भवनहरुमा राखिएका सामग्री र हवाई टिकटको भाडा बढी लिएको जनगुनासो बढेपछि अनुगमन गर्नुपरेको बताए। उनले अनुगमनका क्रममा सरकारले तोकेकोभन्दा बढी भाडा नलिएको बताए।
उनले उडानमा ढिला नगर्न निर्देशन पनि दिए। लो रेटका टिकटहरु कम र हाइ रेटका टिकटहरु बढी बेचेको पाइएकाले अबबाट लो रेटमा टिकट बढी बेच्न निर्देशन दिएको उनको भनाइ छ।
मन्त्री किराँतीले पर्यटनबिना नेपालको समृद्धि सम्भव नरहेको भन्दै पर्यटक बढी भित्र्याउन उडानमा सुविधा दिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।