काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदले द्वन्द्वरत देश इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि सरकार लागिपरेको बताएका छन्।
सुदूरपश्चिम पत्रकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको दशैं, तिहार, छठ तथा नेपाल संवत् विशेष शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री साउदले यस्तो बताएका हुन्।
उनले इजरायल युद्धमा बेपत्ता भएका नेपालीको खोजीका लागि हमाससँग सम्बन्ध रहेको भनिएका देशसँग पनि कुरा हुने बताए।
इजरायलका सम्बन्धित निकायसँग कुराकानी भइरहेको भन्दै उनले हसमासँग सम्बन्ध रहेहका देशसँग पनि बेपत्ता नेपालीको खोजीका लागि कुरा हुने बताएका हुन्।
यस्तै मन्त्री साउदले सुदूरपश्चिम प्रदेश सम्भावनाको दृष्टिकोणले भरिपूर्ण भए पनि बजेटको अभाव भएको बताएका छन्। सुदूरपश्चिममा भएका विविध सम्भावनाहरुको प्रचार–प्रसार तथा विकासका लागि बजेटको अभाव भएको उनको भनाइ थियो।
अब तीनै तहका सरकारले पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताउँदै उनले पहिले सुदूरपश्चिमबाट काठमाडौं आउन धेरै सकस बेहोर्नुपर्ने भए पनि अहिले विभिन्न नदीमा पुल निर्माण हुँदा धेरै सहज भएको धारणा राखे। उनले राज्यले सुदूरपश्चिमलाई हेर्न दृष्टिकोण पनि बदल्न आवश्यक रहेको बतााए।
‘देशको कुनै पनि ठाउँ सुदूर हुनु हुँदैन, देशको कुनै पनि ठाउँ भुगोलका आधारमा सुदूर हुँदैन, अब यो दृष्टिकोण बदल्न आवश्यक छ,’ उनले भने।
उनले सुदूरपश्चिमको प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएर त्यहाँको विकासको विषयमा योजना बनाए पनि बजेटको कारणले योजना पुरा नहुने धारणा राखे। उनले बजेट जनसंख्याको अुनपातमा विनियोजन हुने भएको बताउँदै सुदूरपश्चिममा सोचेअनुरुपको बजेट विनियोजन नहुने धारणा राखे।
‘सुदूरपश्चिममा बढी बजेट विनियोजन गर्ने मनसाय भए पनि जनसंख्याको आधारमा बजेट विनियोजन हुन्छ, बजेट विनियोजन न्यून हुने परिपाटी चुनौतिपूर्ण छ, शहरमा चालु बजेटले तान्ने भए पनि सुदूरपश्चिममा त्यो अवस्था छैन, यसको मारमा सुदूरपश्चिम पर्ने गरेको छ,’ उनले भने।
यस्तै, उनले सरकारले उच्च प्राथमिकतामा राखेर सुदूरपश्चिममा भएको पर्यटन तथा सांस्कृतिक विविधताको प्रचार–प्रसार तथा विकास गर्नुपर्ने बताए। उनले जलविद्युत् र कृषिमा सुदूरपश्चिम ठूलो सम्भावनाको क्षेत्र भएको बताए।
मन्त्री साउदले पछिल्लो समय सुदूरपश्चिममा ठूला परियोजनाहरु निर्माणधीन अवस्थामा रहेकोले त्यसले सिंगो सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुग्ने बताए।
यस्तै, कार्यक्रममा प्रतिनिधि सभा सांसद रुपा चौधरीले सुदूरपश्चिम सामाजिक तथा सांस्कृतिक रुपमा धनी भएकोले त्यसको संरक्षणका लागि सबैले हातेमालो गर्नु पर्ने धारणा राखिन्। समाजका अध्यक्ष यम बमको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न अग्रज पत्रकारहरुले धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।