काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेललेसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक कार्यक्रमकाबीच आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले सो प्रतिवेदन पेस गरेका हुन्।
सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक मुलुक भएकाले सबै जाति, भाषा, संस्कृति र समुदायकाबीचमा सहअस्तित्वका आधारमा आपसी सद्भाव कायम राख्न मुस्लिम आयोग जस्ता आयोगको भूमिका महत्त्वपूर्ण हुने बताए।
आयोगको मुस्लिम समुदायको हक अधिकार संरक्षणमा गहन र महत्त्वपूर्ण दायित्व रहेको पनि राष्ट्रपति पौडेलले स्पष्ट पारे।
उनले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम र क्रियाकलापहरु समेटेर जुन प्रतिवेदन पेस गरेको छ, यसमा उठाइएका महत्त्वपूर्ण विषयहरुलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरे।
प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले आयोगले गरेका काम कारबाहीको बारेमा संक्षिप्त जानकारी गराए। उनले मुस्लिम समुदायको हक अधिकारको संरक्षणलाई प्राथमिकता दिएर आयोगले काम गरिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।