काठमाडौं– कोशी प्रदेश सभा सचिवालयले प्रदेश सभाको बैठक आह्वान गरेको छ। यसअघि असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक कात्तिक १ गते बुधबार बस्नेगरी बैठक आह्वान भएको हो।
प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले सोमबार एक विज्ञप्ति जारी गर्दै बैठकको आह्वान गरेका हुन्।
यसैबीच अब बस्ने प्रदेश सभाको बैठकमा नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी गरिरहेको उनी निकट स्रोतले बताएको छ। कार्की शनिबार एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।
उनले आइतबार शपथ लिइ पद सम्हालिसकेका छन्। साथै, कार्कीले कांग्रेसबाट र एमालेबाट एक–एक मन्त्री पनि नियुक्त गरेका छन्।
पार्टी संस्थापनको निर्णय विपरित गएर मुख्यमन्त्री बनेका शेखर कोइराला समूहका कार्कीलाई एमालेले साथ दिएको छ। त्यसलगत्तै, काठमाडौंमा कोइरालासहित कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघकै गठबन्धनको मर्म अनुसार अघि बढ्ने सहमति गरेका थिए।
तर सहमति विपरीत कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दा भने आफूलाई मुख्यमन्त्री बनाउने सांसदहरुबाटै मन्त्री नियुक्त गरे। उनी विश्वासको मत लिएर मात्र थप राजनीतिक चाल चाल्ने रणनीतिमा रहेको उनी निकट एक सांसदले बताए।
‘सायदै १ गते बस्ने प्रदेश सभाको बैठकमा कार्कीजीले विश्वासको मत लिनुहुन्छ। अनि मात्र कसरी अघि बढ्ने भन्ने हुन्छ,’ उनी निकट ती सांसदले बताए।
प्रदेश सभा सचिवालयले भने कार्कीले विश्वासको मत लिने सन्दर्भमा कुनै निवेदन नदिएको बताएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।