काठमाडौं– इजरायल र हमासबीच जारी संघर्ष भइरहेका बेला गाजाको विषयमा चर्चा गर्न साउदी अरबले अर्गनाइजेशन अफ इस्लामिक को–अपरेशन (ओआईसी) को बैठक बोलाएको छ।
गत शनिबार इजरायलमा गाजाको चरमपन्थी संगठन हमासले आक्रमण गरेको थियो। इजरायलले पनि यसको जवाफी कारबाही सुरु गर्यो र अब इजरायलले गाजाप्टीको आधा क्षेत्र खाली गर्न निर्देशन दिएको छ।
ओआईसीले एक बयान जारी गर्दै साउदी अरबको अनुरोधमा गाजाको मुद्दामा चर्चा गर्न बुधबार मन्त्रीस्तरीय बैठक बोलाइएको जानकारी दिएको छ।
जेद्दामा हुने यो आपतकालीन बैठकमा गाजाका ’निहत्था मानिसका लागि खतरा’ र इजरायलको शैन्य कारबाहीबारे चर्चा गरिनेछ। हमासको आक्रमणपछि इजरायलले गाजामा भारी मात्रामा बम बर्साएको छ।
इजरायलले गाजापट्टीमा घेराबन्दी गर्दै आफ्नो सेना र भारी हतियार तैनाथ गरेको छ र जमिनी आक्रमणका लागि तयारी गरेको छ।
शनिबार इजरायलले गाजाका मानिसलाई २४ घण्टाभित्र गाजाभन्दा माथिको क्षेत्र छोडेर दक्षिणतर्फ जानका लागि निर्देशन गरेको छ। किनकी हमासका लडाकू सिध्याउनका लागि उक्त क्षेत्रमा ठूलो कारबाही गर्ने तयारी इजायलको छ।
५७ इस्लामिक देशको संगठन ओआईसीले बुधबार इजरायल र हमासको जारी संघर्ष र गाजाका आम नागरिकको स्थितिमाथि चर्चाका लागि संगठनमा संलग्न देशका विदेश मन्त्रीहरुको आपतकालीन बैठक बोलाएको हो।
हाल ओआईसीको अध्यक्षता गरिरहेको साउदीको आह्वानमा बैठक राखिएको ओआईसीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।