काठमाडौं– भारतमा सैनिक सेवामा कर्नेलसम्म पुगेका एक नेपाली असावधनीका कारण हातहतियार मुद्दाको फन्दामा परेका छन्।
बिदाको समय नेपाल आएर आफन्त भेट्न पोखरा जाने क्रममा कर्नेल बलबहादुर पुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गोलीको खोका सहित पक्राउ परे।
भारतमै सम्मानित मानिने ‘गानेनिट्री अवार्ड’ प्राप्त गरेका कर्नेल पुन मिजोरम राज्यको एक तालिममा प्रयोग भएका गोलीहरु असवाधानीपूर्वक झोलामा राख्दा नेपालमा मुद्दा खेप्न पुगेका हुन्।
२०७५ भदौ ३ गते पोखरा उडानका लागि सुरक्षा जाँच गर्दा पुनले बोकेको झोलामा ०.२२ एमएमको २० थान गोली भेटिएको थियो।
पक्राउ गरेपछि प्रहरीले उनीमाथि अनुसन्धान गर्दै काठमाडौं जिल्ला अदालतमा खरखजना मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा पहिलो सुनुवाई गर्दै जिल्ला अदालतबाट १० लाख रुपैयाँ धरौटीसमेत माग गरिएको थियो। अदालतले माग गरेको उक्त रकम बुझाएर उनी भदौ २२ गते धरौटीमा छुटेका छन्।
अवैध हतियार तथा खरखजाना मुद्दामा भारतीय दूतावासले अदालतलाई आवश्यक परेको अवस्थामा उपस्थित गराउने जिम्मेवारी लिएपछि जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले धरौटीमा छोड्ने आदेश गरेको हो।
विमानस्थलमा पक्राउ परे लगत्तै प्रहरीले काठमाडौको सामाखुशीस्थित टाउन प्लानिङमा बस्दै आएका पुनको घरमासमेत खानतलासी गरेको थियो।
अदालतलमा उनले झोलाको प्याकिङ गर्दा गोलीहरु संगोगवश झोलामा परेको बयान दिएको र भारतीय दूतावासलेसमेत पुनको जिम्मेवारी लिँदै मुद्दाको प्रक्रियामा सहभागी हुने भएपछि हाललाई धरौटीमा छोडिएको जिल्ला अदालतको आदेशमा उल्लेख छ।
अदालतको आदेशमा उनी नेपाली नागरिक र असल चालचलनको भएकाले धरौटीमा रिहा गर्ने आदेश गरेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।