काठमाडौं– इजरायली सेनाले गाजा शहरको उत्तरी क्षेत्रमा बस्दै आएका मानिसलाई २४ घण्टाभित्र आफू बस्ने ठाउँ खाली गर्न चेतावनी दिएको छ। उनीहरुलाई उत्तरी गाजाबाट दक्षिणी गाजामा सर्न भनिएको छ।
संयुक्त राष्ट्रसंघका अनुसार इजरायलको यो कदमबाट करिब ११ लाख मानिसहरु प्रभावित हुने देखिन्छ। यो संख्या गाजा पट्टीमा रहने कूल मानिसको आधा हो।
इजरायली डिफेन्स फोर्सले यस्तो चेतावनी गाजा तथा जेरुसलमको समयानुसार राति ११ बजे दिएको हो।
उक्त चेतावनीपछि संयुक्त राष्ट्रसंघले एक बयान जारी गर्दै भनेको छ, ‘यति धेरै ठूलो संख्यामा मानिसलाई एउटा ठाउँबाट अर्को ठाउँमा सर्न भन्दा गम्भीर मानवीय परिणाम सिर्जना हुन सक्छ।’
प्यालेस्टिनी लडाकु समूह हमासले शनिबार बिहान गरेको आक्रमणपछि इजरायलले गाजामा रहेका हमासको क्षेत्रमा निरन्तर हवाइ हमला गरिरहेको छ। पछिल्ला दिनमा इजरायलले गाजासँग सीमा जोडिएको क्षेत्रमा सैनिकका साथै ठूलो मात्रामा ट्यांक, गोलाबारुद र उपकरणहरु एकत्रित गर्न सुरु गरेको छ। इजरायलको उक्त तयारीअनुसार उसले गाजामा छिट्टै नै जमिनी कारबाही सुरु गर्ने अनुमान गरिएको छ।
गाजाको उत्तरी क्षेत्रका बासिन्दालाई चेतावनी जारी गरिएपछि संयुक्त राष्ट्रसंघले इजरायलको उक्त कदमको आलोचना गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।