काठमाडौं– मलेसियन एयर कम्पनी ‘एयर एसिया’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको उडान अक्टोबर १ (असोज १५)देखि बन्द गर्ने निर्णयसँगै उठ्न बाँकी नेपाल पर्यटन बोर्डको ७ करोड रुपैयाँभन्दा बढी रकम जोखिममा परेको छ।
एयर एसियाले बोर्डलाई ७ करोड २३ लाख रुपैयाँ भन्दा बढी बक्यौता तिर्न बाँकी छ।
एयर एसिया नेपाल प्रतिनिधिलाई नेपाल पर्यटन बोर्डले बारम्बार ताकेता गर्दा पनि दुई वर्ष अगाडि देखिको पर्यटन शुल्क बापतको रकम भुक्तानी गरेको छैन। कुनै पनि अन्तर्राष्ट्रिय उडान भर्ने एयर कम्पनीले नेपालबाट बाहिर जाने विदेशी नागरिकसँग टिकट काट्दा नै पर्यटन शुल्कबापत १ हजार रुपैयाँ लिने गर्दछ।
यसरी लिइएको रकम बिल प्राप्त भएको १५ दिन भित्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ। तर, एयर एसियाले पर्यटन शूल्कबापत संकलन गरेको ७ करोड २३ लाख ८७ हजार १ सय ७६ रुपैयाँ समयमै दाखिला नगरेको पर्यटन बोर्डका कार्यकारी निर्देशक(सिइओ) दीपकराज जोशी बताउँछन्। रकम दाखिला गराउन बारम्बार पत्रचार गरेपनि कम्पनीले कहिले ५ लाख त कहिले १० लाख रुपैयाँ तिरेर टार्ने गरेको उनको भनाइ छ।
साँवा र ब्याज सहित ठूलो रकम बक्यौता भएपछि बोर्डले ७ महिना अगाडि नै नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष रकम असुलीमा सहयोग माग्दै पत्र काटेको बोर्ड सिइओ जोसीले बताए।
‘एयर एसियाले नेपालमा ६ वर्ष अगाडि देखि गर्दै आएको उडान बन्द गर्ने सूचना पाएसँगै फेरी रकम असुलीमा सहयोग गरिदिन प्राधिकरणसँग आग्रह गरेका छौं’, जोशीले भने, ‘नियामक निकाय प्राधिकरण हो। प्राधिकरणकै सहयोगमा रकम असुली हुन्छ।’
बोर्डले यसअघि पनि एयर एसिया नेपाल प्रतिनिधि हरिमान लामासँग बारम्बार रकम तिर्न पत्र काट्दै आएको थियो। पत्र काटेपनि उनले नेपाल पर्यटन बोर्डलाई रमक भुत्तानीमा आलटाल गर्दै आएका थिए।
रकम असुलीमा सहयोग गरिदिन आग्रह सहित नेपाल पर्यटन बोर्डबाट पत्र प्राप्त भएको नेपाल नागरिक प्राधिकरणका महानिर्देशक सन्जीव गौतम बताउँछन्। प्राधिकरणले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमाानस्थलसँग नेपाल पर्यटन बोर्डको बाँकी बक्यौता असुलीका लागि छलफल गरिरहेको उनको भनाइ छ।
‘एयर एसियाले बोर्डलाई तिर्नुपर्ने पर्यटन शुल्कबापतको बक्यौता रकम संकलन जसरी पनि गरिन्छ’, गौतमले भने, ‘पर्यटन बोर्डलाई तिर्न बाँकी रहेको रकमको विषयमा एयर एसिया केन्द्रीय कार्यालय मलेसियामा पत्राचार गरिनेछ।’
एयर एसियाले नेपालमा तिर्नुपर्ने विभिन्न शिर्षकको रकमको विषयमा मलेसियन नागरिक उड्डयन प्राधिकरणसँग छलफल भइरहेको पनि गौतमले बताए।
मलेसियन नागरिक उड्डयन प्राधिकरणका प्रमुखले पनि एयर एसियाको रकम असुलीमा सहयोग गर्ने प्रतिबद्धता जनाएको उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।