जुम्ला– जुम्लाको तातोपानी गाउँपालिकाको मार्सी धानबालीमा ‘ब्लास्ट रोग’को संक्रमण देखा परेको छ। भित्र्याउन लागेको याममा रोगले धानबालीलाई सखाप पारेपछि किसान चिन्तित बनेका छन्। स्थानीयवासी धनप्रसाद चौलागाईँले ब्लास्ट रोगको समस्याले धानलाई क्षति गरेको बताए।
उनको खेतबाट करिब २२ क्विन्टल धान उत्पादन हुन्थ्यो। त्यही उत्पादनले वर्षभरि पुग्थ्यो। खेतमा पाकेको धानमा आगो लगाउनुपर्ने अवस्था आएको उनको भनाइ छ। तातोपानीको वडा नम्बर ४, ५ र ६ मा मार्सी धान उत्पादन हुने फाँटमा बढी ब्लास्ट रोगले धैरे क्षति गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले जानकारी दिए।
अगामी कात्तिक महिनाको पहिलो सातादेखि धान भित्र्याउने जुम्ली किसान एक्कासी धानमा संक्रमण भएको नेक ब्लास्ट (घाँटी मरुवा) रोगले तातोपानीको अनुमानित करिब ८० हेक्टर धान बालीमा क्षति गरेको उनले बताए। सबैभन्दा धेरै तातोपानी–५ स्थित लाम्रा, नगर, एैरेनी हाँक, हियाँखोलाका किसान बढी सो रोगबाट मारमा परेको स्थानीयवासी पूर्णप्रसाद चौलागाईँको भनाइ छ।
कार्यापालिकाको बैठकबाट पालिकाभित्रका किसानलाई उचित राहत प्रदान गरिने उपाध्यक्ष रेवती रावलले बताइन्। चन्दननाथ नगरपालिकाको–९ मा पनि उक्त रोगले धान बालीमा असर गरेको किसान बताउँछन्।
जिल्लामा अहिले ३ हजार हेक्टर क्षेत्रफलमा मार्सी धानको खेती हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। पछिल्लो समयमा स्वदेश तथा विदेशबाट जुम्ली मार्सी धानको चामल अत्यधिकरूपमा माग हुने गरेको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सञ्चालन गरेको अग्र्यानिक पसलका सञ्चालक बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।