काठमाडौं– विद्युतीय चुरोट (भेप)भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा थप अनुसन्धान गर्न भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले फिर्ता पठाएको अनुसन्धान प्रतिवेदन सीआईबीले सरकारी वकिलको कार्यालयलाई फर्काएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार अनुसन्धान प्रतिवेदन फर्काएको हो। सीआईबी स्रोतका अनुसार सरकारी वकिलको कार्यालयले दिएको निर्देशन अनुसार थप केहीको बयान गराएर फर्काइएको हो।
तर थप क–कसको बयान लिइएको हो भन्ने चाहिँ सीआईबीले खुलाएको छैन।
सरकारी वकिल कार्यालयले प्रतिवादीहरूको थप बयान गर्नुपर्ने देखिएकाले सीआईबीलाई फाइल फिर्ता पठाएको थियो। थप बयान लिएर अनुसन्धान पूरा गर्ने निर्देशनसहित फाइल असोज २२ गते नै सीआईबीलाई पठाएको थियो।
सीआईबीले यस प्रकरणमा मुछिएका पूर्व सभामुख एवं सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई अभियुक्त नबनाई अनुसन्धान समाप्त गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
कृष्णबहादुर महराका छोरा राहुलसहित चार जनालाई भने प्रतिवादी बनाउनुपर्ने राय सीआईबीले दिएको थियो। सीआईबीले असोज १९ गते अनुसन्धान प्रतिवेदन सरकारी वकीलको कार्यालयमा पेस गरेको थियो।
उक्त अनुसन्धान प्रतिवेदन अध्ययन गर्दा अपुरो देखिएकाले थप केही बुँदामा स्पष्ट पार्नू भन्दै सीआईबीलाई नै उक्त प्रतिवेदन फिर्ता पठाइएको थियो। सीआईबीले बयान थप गरेर आज प्रतिवेदन सरकारी वकिलको कार्यालयमा फर्काएको हो।
राहुल, दावा छिरिङ, लोकेन्द्र पौडेल र निमा गुरुङलाई संगठित अपराध र भन्सार छलीको कसुरमा मुद्दा चलाउनुपर्ने भन्दै सीआईबीले अनुसन्धान प्रतिवेदन तयार गरेको थियो।
यसअघि हङकङबाट आएको ६० किलो बढी सुन तस्करीमा नेपालस्थित व्यवस्थापक रहेका अभियोगमा दावा छिरिङ पुर्पक्षका लागि थुनामा छन्। लोकेन्द्र चिनियाँ तस्कर समूहको सहयोगीको भूमिकामा देखिएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
निमा भने फरार छन्। यो प्रकरणमा दाओजिन लुईसहित ६ जना चिनियाँलाई पक्राउ गरेपछि प्रतिवादी बनाइने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।