काठमाडौं– फिल्म ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ले सेन्सर बोर्डबाट प्रदर्शन अनुमति पाएको छ। चलचित्र केन्द्रीय जाँच समितिले दिएको सर्टिफिकेटअनुसार फिल्म स–परिवार हेर्न मिल्नेछ। यो फिल्म २ घण्टा २६ मिनेटको हुनेछ।
आगामी फूलपातीबाट प्रदर्शनमा आउने फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन्। फिल्मका लेखक तथा निर्माता खगेन्द्र लामिछाने हुन्। यो फिल्म ‘पशुपतिप्रसाद’को सिक्वेल हो।
फिल्मको पहिलो भागमा ‘पशुपतिप्रसाद’को भूमिकामा खगेन्द्र लामिछाने थिए। पहिलो भागमा पशुपतिप्रसादको मृत्युपछि के हुन्छ? ‘भष्मे डन’को प्रतीक्षा गरिरहेका दर्शकहरूमा यो कौतुहलता छ। ‘पशुपतिप्रसाद’मा ‘भष्मे डन’को भूमिका अभिनेता विपीन कार्कीले निभाएका थिए।
सिक्वेलमा कथाको मुख्य पात्र भष्मे डन छ। अभिनेता विपीनसँगै स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, रवीन्द्रसिंह बानियाँ, वर्षा शिवाकोटी लगायतका कलाकारको मुख्य अभिनय फिल्ममा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।