काठमाडौं– चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्ड स्वायत्त बनाउन नै आफू विकास बोर्डमा आएको बताएका छन्।
सोमबार चलचित्र निर्माता संघको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले विकास बोर्डले आफ्नो खाइपाइ आएको अधिकार कहाँनेर र किन गुमायो भन्नेबारेमा विचार हुन आवश्यक रहेको बताए। उनले चलचित्र क्षेत्र स्वायत्त नभएसम्म कलाकार, चलचित्र क्षेत्र, चलचित्र कर्मीहरुको भविष्य उज्वल नरहेको बताए।
उनले आफू पद र जागिर खानका लागि मात्रै चलचित्र विकास बोर्डमा नआएको र चलचित्रसम्बन्धी ऐन एक महिनामै पास गर्छु भनेर कोही आए आफू राजीनामा दिन तयार रहेको बताए।
‘चलचित्र विकास बोर्ड स्वायत्त बनाउन नै म चलचित्र विकास बोर्डमा आएको हुँ। विगत ४० वर्षअघि देखिको ऐन अहिलेसम्म किन पास भएको छैन? म पदका लागि होइन, चलचित्र कर्मीको लागि हुँ। जागिर खान होइन। यदि कोही व्यक्ति भोलिको दिनमा आएर कसैले भुवन केसी यहाँबाट गएपछि ऐन एक महिनामा पास गर्छु भनोस्, म अहिले नै जागिर छोड्न तयार छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।