काठमाडौं– प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्ने सांसदहरुले इजरायल घटनामा नेपाल सरकारले प्रभावकारी कुटनीतिक पहल नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
पढ्दै कमाउँदै अभियान अन्तर्गत इजरायलमा पुगेका १० नेपाली विद्यार्थीहरु हमास समूहको आक्रमणमा परी मृत्यु र घाइते भएको ३ दिन बित्दा पनि सरकारले सक्रियता नदेखाएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्।
एमालेका सांसद अमृतलाल राजवंशीले नेपाल सरकार र त्यहाँ रहेको नेपाली राजदूतावास मुखदर्शक भएको भन्दै तदारुकता देखाउन आग्रह गरे। ‘नेपाल सरकारले त्यहाँ अलपत्र परेका नेपालीको तुरुन्त उद्धार गरोस् भन्न आग्रह गर्छु। नेपालको राजदूतावास मुखदर्शक रहेकोले तुरुन्त उद्धारमा खट्न आग्रह गर्छु,’ उनले भने।
यस्तै एमालेबाट सांसद भएका राष्ट्रिय परिवार दलका अध्यक्ष एकनाथ ढकालले सरकारले अपुष्ट तथ्यांक बाँडेर बसेको टिप्प्णी गरे। ‘यस्तो अवस्थामा सरकारको काम कारबाही सन्तोषजनक छैन। हिजो परराष्ट्रमन्त्रीले पनि अपुष्ट र अपुरो विवरण संसद्लाई दिनु भयो। यो अवस्थामा नेपाल सरकारले प्रभावकारी ढङ्गले नेपालीको उद्धार गरोस्,’ उनले भने।
राप्रपाकी सांसद गीता बस्नेतले पनि सरकारले सक्रियता देखाउनुको अलवा छलफल गरेर बसेको भन्दै दु:ख व्यक्त गरिन्। ‘इजरायलको बंकरमा नेपालीले ३ दिनदेखि पानी पनि नपाएको अवस्था छ। हामी यहाँ बसेर बृहत छलफल गरिरहेका छौं। दु:ख लाग्छ,’ उनले आक्रोश व्यक्त गरिन्।
सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारको कुटनीतिक तदारुकता छताछुल्ल भएको उल्लेख गरेका छन्। ‘यो प्रकरणमा सरकारको कुटनीतिक कमजोरी छताछुल्ल ढंगले पोखिएको छ। प्रधानमन्त्री लोकप्रिय काममा अल्झिनु भएको छ। तर त्यहाँको नेपालीको माग के छ भने तत्काल फर्काइयोस्। उनीहरुलाई सुरक्षितरुपमा नेपाल फर्काइयोस्,’ बाँस्कोटाले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले सरकार मृतक र घाइतेहरुको तथ्यांक संकलन गरेर बसेको आरोप लगाएका छन्। ‘केही नेपाली बेपत्ता छन्। यो देशको सरकार यहाँ रहेको इजरायली राजदूतसँग याचना गरिरहेको छ। नेपाल सरकार सिधै इजरायली राष्ट्रध्याक्षसँग किन संवाद गर्दैन? मृतक र बेपत्ताको तथ्यांक मात्रै राख्ने काम नगरियोस्,’ सांसदले चेतावनी दिँदै भने।
कांग्रेस सांसद अर्जुननरसिंह केसीले कुटनीतिक सक्रियता देखाउँदै इजरायलमा रहेका नेपालीहरुको युद्धस्तरमा उद्धार गर्न आग्रह गरेका छन्। ‘त्यहाँ आर्तानाद गरिरहेका छन् देशमा फर्काउ भनेर। घाइते र नेपाल फर्किन चाहनेहरुको युद्धस्तरमा उद्धार गरोस्,’ उनले आग्रह गरे।
वर्तमान सरकारकै केही समय मन्त्री बनेका माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारलाई कुटनीतिक दक्षता प्रदर्शन गर्न आग्रह गरेका छन्। ‘केही साथीहरु बेपत्ता हुनुहुन्छ। त्यसको सरकारले चाँडै खोजी गर्न कुटनीतिक ढंगले पहल गरोस्,’ उनले अघि भने, ‘त्यहाँ रहेका नेपालीलाई नेपाल ल्याउन विशेष पहल गर्न आग्रह गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।